अमर काफ्ले/इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले १ सय ३० परिवारको निःशुल्क स्वास्थ्य बिमा गराएका छन् । उनले इनरुवा २ मगर टोलका विपन्न तथा गरिब परिवारको निःशुल्क स्वास्थ्य बिमा गरि दिएका हुन् । नगर प्रमुख मेहताले आफ्नो मासिक तलब र सेवा सुविधाबाट प्राप्त हुने रकमले ति परिवारको स्वास्थ्य बिमा गराएको बताए ।निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा सबैको पहुँच स्थापित गराउन आफुले सहयोग गरेको उनले बताए ।मेहताले सरकारी बिमा कार्यक्रम भरपर्दो र सबैका लागि लाभदायी रहेकाले व्यक्तिगत पहलमा विपन्न तथा गरिब परिवारको स्वास्थ्य बिमा गराएको बताए ।

उनले रकम अभावमा सो सुविधाबाट वञ्चित हुन सक्ने परिवारलाई लक्षित गरि निःशुल्क स्वास्थ्य बिमा गरि दिएको बताए ।मेहताले सरकारका राम्रा नीति गरिब जनता समक्ष पुग्नु पर्छ, त्यसैले हामीले काम गर्नु पर्छ भन्ने मान्यतामा रही आफुले निःशुल्क कार्यक्रमलाई अभियानका रुपमा अघि बढाएको बताए । औपचारिक कार्यक्रमका बिच लक्षित परिवारलाई निःशुल्क बिमा कार्यक्रममा समेटिएको थियो । प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गरेका थिए ।

कोइरालाले नगर प्रमुखले चालेको कदम सराहनीय र प्रशंसा योग्य रहेको बताए । उनले यस्ता कार्यक्रमले जनता र जनप्रतिनिधि बिच भावनात्मक सम्वन्धको बिकास गराउने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख मेहताले सरकारका राम्रा काम र नीतिको सबैले अवलम्बन गर्नु पर्ने धारणा राखेका थिए । मेहताले स्वास्थ्य बिमा कार्यक्रमले स्वास्थ्योपचारमा सबैको सहज र सरल पहुँच स्थापित गराउने बताए ।

नगर प्रमुख मेहताले नगर भित्रका अन्य वडामा बसोबास गर्ने विपन्न र गरिव परिवारलाई समेत क्रमशः निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समेट्ने बताए । बिमा दर्ता सहयोगी वहाव अन्सारीका अनुसार नगर प्रमुखको निःशुल्क बिमा अभियानमा १ सय ३० परिवारका लगभग ६ सय ५० जना समेटिने छन् । उनीहरुको विवरण अपडेट गर्ने क्रम थालिएको अन्सारीले बताए ।

मेयरले निःशुल्क स्वास्थ्य बिमा गराइ दिए वापत १ सय ३० परिवारको हकमा ४ लाख ५५ हजार रुपैया स्वास्थ्य बिमा बोर्ड सुनसरीलाई बुझाउनु पर्ने छ । अन्सारीले सबैको फारम भरि सकेपछि नगर प्रमुखले रकम उपलब्ध गराउने बताए ।  स्वास्थ्य बिमा कार्यक्रममा समेट्न लागिएको परिवारले जेठ १ गतेबाट स्वास्थ्योपचार सेवा लिन पाउने छन् । बिमाको अवधि भने १ वर्षको रहने छ । सो अवधि भित्र प्रत्येक परिवारले सरकारले निर्धारण गरे अनुरुपको सेवा वापत १ लाख बराबरको स्वास्थ्योपचार पाउने छन् । त्यस पश्चात भने सेवा निरन्तरताको लागि पूनः बिमा नविकरण गर्नु पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया