२० माघ धरान।कर्मचारीहरू काम छाडेर आन्दोलनमा उत्रिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प भएको छ । प्रतिष्ठान प्रशासनले गरेका विभिन्न निर्णयमाथि असहमति जनाउँदै कर्मचारीहरू पटकपटक आन्दोलनमा उत्रिन थालेपछि पूर्वाञ्चलकै ठूलो अस्पतालको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ ।
चिकित्सकहरूले ओपीडीमा बिरामी जाँच्न छाडेका छन् । प्रतिष्ठानबाट उपलब्ध हुँदै आएको भिडियो एक्सरे, सिटी स्क्यान, एमआरआई, विभिन्न प्रकारको ल्याब टेस्ट सेवासमेत कर्मचारी आन्दोलनका कारण ठप्प भएको छ । मंगलबार प्रतिष्ठानमा बसेका कर्मचारीलाई समेत आन्दोलनमा उत्रिएका अन्य कर्मचारीले बिरामीको पुर्जा काट्न दिएनन् ।
Dharan-BP-Pratisthan

आकस्मिक सेवाबाहेकका विभागमा गएर आन्दोलनरत कर्मचारीहरूले काम गरिरहेका कर्मचारीलाई समेत अवरोध गरेपछि अन्य कर्मचारीहरूले समेत प्रतिष्ठानको काम छाडेका छन् । कर्मचारीहरू काम छाडेर आन्दोलनमा उत्रिएपछि उपचारका लागि प्रतिष्ठान आएका सयौं बिरामी अलपत्र परेका छन् ।

कर्मचारी आन्दोलनका कारण प्रतिष्ठानमा उपचार गराउन आएका इनरुवाका राजेन्द्र पोखरेलले कर्मचारीले पुर्जा नकाटिदिएपछि उपचार गराउन नपाएको गुनासो गरे ।
प्रतिष्ठानले कर्मचारीहरूका लागि विगतमा निःशुल्क उपलब्ध गराउँदै आएको कोठाको भाडा लिन थालेको, १५ प्रतिशत बिजुलीको शुल्क वृद्धि गरेर २२.७५ प्रतिशत पुर्‍याएको र बिमा शुल्क ३० प्रतिशत वृद्धि गरेको भन्दै प्रतिष्ठानको तल्लो तहका कर्मचारी एक सातादेखि प्रतिष्ठानको ओपीपडी भवन अगाडि धर्ना र आमरण अनशनमा बसेका थिए ।
आमरण अनशनमा बसेका जुनियर फोरमेन किरण भट्टराईलाई प्रहरीले जबरजस्ती आईसीयूमा भर्ना गरेर धर्नामा बसेका कर्मचारीहरूलाई धरपकड गरेको विरोधमा मंगलबारदेखि कर्मचारीले आकस्मिक सेवाबाहेकका सबै काम ठप्प पारेका छन् ।
यसअगाडि पनि कर्मचारी आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानका पूर्वउपकुलपति डा. शेखर कोइरालाको संयोजकत्वमा गठित उच्च तलबमान आयोगले सिफारिस गरे अनुसार १७ प्रतिशत तलब वृद्धि गरे पनि तल्लो तहका कर्मचारीको हकमा प्रतिष्ठान व्यवस्थापन पक्षले ज्यादती गरेका कारण माग पूरा गराउन आमरण अनशनमा बस्नु परेको अनशनकारी किरण भट्टराईले बताए ।
प्रतिष्ठानका उपकुलपति प्राडा बलभद्रप्रसाद दासले बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी कर्मचारीहरूले स्वास्थ्य संस्थाजस्तो सवेदनशील क्षेत्रको सेवा ठप्प पार्नु गलत भएको बताए । उनले आन्दोलनरत कर्मचारीहरू तत्काल काममा नफर्किए प्रतिष्ठानको नियम अनुसार कारबाही गर्ने चेतावनी दिए ।अन्नपुर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया