Nepali-uicide-bid

२१ माघ, क्वालालम्पुर । मलेसियाको जोहरबारुमा रुखबाट हाम फालेर आत्महत्या गर्न खोजेका एक नेपालीलाई अग्नि नियन्त्रकहरुले बचाएका छन् ।

पीडित नेपाली नागरिक भएको र उनी २० वर्षको भएको खुलेको छ । उनले ७.६२ मिटर अग्लो कटहरको रुखबाट हाम फालेर आत्महत्या गर्न खोजेको स्थानीय संचारमाध्यमहरूले जनाएका छन् ।

सर्वसाधारणले खबर गरेपछि जोहरबारु फायर स्टेशनबाट टोली पुगेको थियो । अग्नि नियन्त्रकको टोली पुग्दा युवक अर्धनग्न अवस्थामा रुखको टुप्पोमा थिए ।

अग्नि नियन्त्रकहरुले तत्काल भूईमा एयर कुशन विच्छ्याए । त्यसपछि रुखको टुप्पोमा रहेका युवकलाई पानीको पोहोरा हानेर कुशनमाथि खसाइयो ।नेपाली युवकको उद्धारका लागि १४ जना अग्नि नियन्त्रक खटिएका थिए । यति गर्न  उनीहरुलाई झण्डै एक घन्टा लागेको थियो ।जोहरबारु फायर स्टेशनका प्रवक्ताले आत्महत्या गर्न खोज्ने नेपाली युवक मानसिक सन्तुलन गुमाएको हुन सक्ने बताए ।

मलेसियामा पछिल्लो समयमा नेपालीहरुको आत्महत्यका घटना बढिरहेका छन् । सन् २०१५ मा करिव ४१५ जना नेपालीले मलेसियामा ज्यान गुमाएका थिए । जसमध्ये थुप्रै आत्महत्या गर्नेहरु पनि थिए ।ठूलो सपना बोकेर बैदेशिक रोजगारीमा गएका श्रमिकहरु भनेजस्तो आम्दानी नहुँदा निराश बन्दै आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ ।

 

तपाईको प्रतिक्रिया