neha-pun muder

२६ माघ, पोखरा। १९ वर्षीया नायिका योरुना पुन ‘नेहा’ को हत्याका अभियुक्तलाई प्रहरीले आज पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको अभियोगमा मृतककै धर्म दाइ सतिश भनिने कीर्तन खड्कीलाई सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा कास्की प्रहरी प्रमुख हरिबहादुर पालले खड्कीले नेहाँसँग यौन प्रस्ताव राखेको र त्यसलाई अस्वीकार गरिँदा रिसको झोँकमा हेलमेट प्रहार गरेर हत्या गरेको खुल्न आएको बताए ।

पालका अनुसार अभियुक्तले रिसको झोँकमा हेल्मेटले हान्दा मृत्यु हुन पुगेको स्वीकार गरेका छन् ।

प्रहरीले हत्याराको खोजी गर्ने क्रममा पोखरा नयाँ सडकमा उनलाई नियन्त्रणमा लिएको थियो । उनी दुई दिनअघि नै पक्राउ परेको र अनुसन्धानबाट उनले नै हत्या गरेको खुल्न आएपछि आज प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

मृतक पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा लेखामा कार्यरत थिइन् । दैनिक बिहान काममा जाने र राति ७–८ बजे फर्कने उनी माघ १८ गते साँझ नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा उनलाई घर नजिकै अर्धनग्न अवस्थामा मृत अवस्थामा फेला पारिएको थियो ।

यसैबीच प्रहरीले हत्याका आरोपीलाई सार्वजनिक गर्दैगर्दा पोखरामा मृतकका आफन्तले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले हत्यारालाई फाँसीको सजाय हुनुपर्ने भन्दै नाराबाजी गरेका छन् ।

नेहाको हत्या रहस्यमय भएको र हत्यामा संलग्नलाई पक्राउ गरेर कडाभन्दा कडा कारबाही गर्न माग गर्दै कास्की प्रहरीमाथि कडा दबाब पर्दै आएको छ ।

यसरी भयो हत्या

हत्याका अभियुक्तसँगको बयानको आधारमा प्रहरीले सार्वजनिक गरेको भनाइ :

हत्या भएको दिन (१८ गते) सतिश र नेहासहित अन्य साथीहरु सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए ।

पोखराको न्यूरोडस्थित ओपन टेबल रेष्टुरेन्टमा बसेर मापसे गरिसकेपछि अन्य साथीहरु घर गए ।

सतिशले भने अन्दाजी ९ः०० तिर नेहालाई उनको घर नयाँ गाउँमा पुर्‍याइदिन्छु भन्दै आफ्नो बाइकमा लिएर हिँडेका थिए ।

बीच बाटोमा आएपछि सतिशले नेहालाई लेक साइडतिर जान र त्यतै रात बिताउन प्रस्ताव गरे । तर नेहाले मानिनन् ।

उनको अस्वीकृतिपछि पनि सतिशले पटक पटक उनलाई जान कर गरे । त्यसै क्रममा उनले यौन प्रस्तावसमेत राखे ।

यस्तो सुनेपछि नेहाले उनलाई गालीगलौज गर्न थालिन् ।

यस्तो अपशब्द सुनेपछि सतिशले रिसको झोंकमा नेहालाई आफूसँग भएको हेलमेटले टाउकोको अगाडि र पछाडि दुई पटक प्रहार गरे ।

त्यसपछि नेहा बेहोश भएर ढलिन् ।

ढलिरहेकै बेला उनले नशाको सुरमा शारीरिक सम्पर्क गर्न नेहाको कपडा तल सा¥यो । तर नाक र कानबाट रगत बगेपछि उनी त्यत्तिकै छाडेर घरमा आए ।

तपाईको प्रतिक्रिया