nepali-football1

५ फागुन काठमाडौं। १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा २३ बर्षपछि स्वर्ण जित्ने नेपाली खेलाडीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।  त्रिभूवन विमानस्थलमा खेलाडीहरु उत्रने वित्तिकै बिमानस्थलमा  फूलमालासहित स्वागत गर्न हजारौंको समर्थक पुगेका थिए ।

भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गको पुरुष फुटबलमा स्वर्ण जितेको नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारी, खेलप्रेमी, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, हास्यकलाकार दीपकराज गिरी, दीपाश्री निरौला, गायिका कोमल वलीलगायतका कलाकारले हातमा राष्ट्रिय झण्डा बोकेर भव्य स्वागत गर्नुभएको थियो ।

nepali-football

टोली भारतको गुवाहटीबाट बसमा काँकडभिट्टा हुँदै भद्रपुर विमानस्थलबाट अपराह्न काठमाडौँ आइपुगेको हो । यही फागुन ३ गते भएको फाइनल खेलमा नेपालले भारतलाई २–१ गोलअन्तरले पराजित गर्दै सागमा तेइस वर्षपछि नेपाललाई स्वर्णपदक दिलाएको थियो । नेपाललाई स्वर्णपदक दिलाउने क्रममा नेपालका प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले एक÷एक गोल गरेका थिए । विमानस्थलममा उत्रिएलगत्तै उनीहरुलाई नेपाली सेनाको गाडीमा राखेर नगर परिक्रमासमेत गराएको छ ।

खेलाडीलाई एयरपोर्ट, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, न्यूरोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, केशरमहल, नारायणहिटी सङ्ग्रहालय गेट, पुरानो बसपार्क, भद्रकाली, सहिद गेट, सुन्धारा हुँदै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला पुर्याईएको छ । नगरपरिक्रमापछि रङ्गशालामा एक कार्यक्रमबीच विजेता टोलीलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया