झापा १५ फागुन । झापाको पृथ्वीनगरमा आज विहान छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा पृथ्वीनगर–६ निवासी १७ वर्षीय राजन मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै सोही ठाउँका १९ वर्षीय सञ्जय लिम्वू र १८ वर्षीय सञ्जय उराउ छुरा प्रहाराबाट गम्भीर घाइते भएका छन् ।

पृथ्वीनगर – ६ मा रहेको कृष्ण सुब्बाको चिया वगानको टहरामा सुतेका उनीहरुमाथि आफ्नै साथी सोही ठाउँका २० वर्षीय कालू भनिने सञ्जोग लिम्बू सहितले छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी समेत रहनुभएका प्रहरी नायव उपरीक्षक भीमवहादुर दाहालले लिम्बू सहित ४ जना युवाले उनीहरुमाथि सामान्य विवादमा छुरा प्रहार गरेर भागेकाले उनीहरुको खोजीकार्य भइरहेको बताउनुभयो ।

यता छुरा प्रहारामा सम्लग्न सञ्जोग लिम्बूलाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मगरलाई शरीरका विभिन्न भागमा छुरा प्रहरा गरी हत्या गरेको र वाँकी दुई जनालाई घाटी र छातीमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञावालीले जानकारी दिनुभयो । घाइते दुवैको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया