Ramchandra-Poudel-congress matdan
२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु भएको छ । बिहीवारदेखि सुरु भएको कांग्रेसको १३ औँ महाधिवेशनमा सभापति, महामन्त्री र कोषाध्यक्ष र ६१ केन्द्रीय सदस्यका लागि काठमाडौंको राष्ट्रिय सभागृहमा मतदान हुन लागेको हो ।

मतदान दिउँसो ४ बजेसम्म चल्ने र बेलुकीदेखि नै मतगणना सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित केन्द्रीय सदस्यमा तीन सय १२ जनाको उम्मेदवारी परेको छ ।

सभापति, महामन्त्री र कोषाध्यक्षसहितको ६४ सदस्यीय केन्द्रीय सदस्य निर्वाचनमार्फत प्रत्यक्ष निर्वाचित हुनेछन् । निर्वाचनमा कांग्रेस महाधिवेशनका लागि देशभर र विदेशमा रहेका जनसम्पर्क समितिबाट चुनिएर आएका करिब ३ हजार १ सय ६१ प्रतिनिधिहरुले मत दिनेछन् ।

congress matadan
कांग्रेस महाधिवेशनमा ६४ पदका लागि ३१० जना उम्मेदवारीवीच प्रतिस्पर्धा हुनेछ। सभापतिका लागि कार्यबाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरवहादुर देउवा र कृष्ण सिटौलावीच प्रतिस्पर्धा हुँदैछ भने महामन्त्रीमा शशांक कोइराला, अर्जुनरसिंह केसी र गगन थापा चुनावी मैदानमा उत्रिएका छन् । यस्तै कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्ण कार्कीवीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली कांग्रेसको विधानअनुसार सभापति पदमा निर्वाचित हुन कम्तीमा ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । आजको निर्वाचनबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएमा भोलि फेरि मतदान हुनेछ ।

 

तपाईको प्रतिक्रिया