२४ फागुण । गायक तथा संगीतकारबाट अभिनेता बनेका हिमेश रेममिया हिजोआज आफ्नो आगामी फिल्म ‘तेरा सुरुर’लाई लिएर चर्चामा छन् । फिल्मको गीत–संगीत निकै रुचाइरहेको छ । फिल्मको म्युजिक भिडियोमा हिमेशलाई हेरेर पनि उनले निकै मेहनत गरेको देख्न सकिन्छ । यस फिल्मको सुटिङ दौरानमा हिमेशले नशा पिएर आफ्नो कसम तोडेको बताएका छन् ।
‘तेरा सुरुर’को सुटिङ आयरल्यान्ड र डबलिनमा भएको थियो, जहाँ चिसो बढी भएकाले नशा पिउनै पर्ने भयो । बिना नशा चिसोले सुटिङ गर्न नसकिने अवस्था भएपछि हिमेशले नशा कहिल्यै नपिउने बाचा–कसम तोडेका हुन् । हिमेशले भने, ‘मैले कसम तोडेकोमा दुःख लागेको छ, तर फिल्मको एक सिनमा मैले पातलो कपडा लगाउँनै पर्ने भएकाले चिसोबाट बच्न पहिलो पटक मैले ‘ब्रान्डी’ पिए ।’
यतिमात्र होइन, हिमेशले ‘तेरा सुरुर’का लागि ६ महिनासम्म खाना खाएनन्, र एक वर्षभित्र २० किलो वजन पनि घटाए । सलमान खानले नै उनलाई ‘म्युजिक डारेक्टर’ बनाएको भन्दै खानप्रति पनि आभारी दर्शाएका छन् । ‘तेरा सुरुर’ फिल्म ‘आपका सुरुर’ फिल्मको सिक्वेल हो । फिल्ममा हिमेश रेशमिया, फराह करीमी, नसिरुद्दिन, शेखर कपूर र कबिर वेदीको दमदार भूमिका रहेको छ । र्यापर हनी सिंह र बादशाहले संगीत भर्न सघाएका छन् । शान अरन्हा निर्देशित ‘तेरा सुरुर’ फिल्म ११ मार्चदेखि रिलिज हुनेछ ।