ChhathParvaFestival

जनकपुर, कार्तिक २९ । मिथिलाञ्चलको महत्वपूर्ण छठ पर्व आज(आइतबार)बाट सुरु भएको छ । चार दिनसम्म मनाइने पर्वका लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा, रौतहटसहित तराईका जिल्लाका नदी पोखरीलाई सजाइएका छन् । छठको पहिलो दिन आज अरबा अरबाइन मनाइन्छ । ब्रतका क्रममा माछा, मासु, लसुन,प्याज, कोदो, मुसुरो जस्ता खानेकुरा त्याग्ने गरिन्छ । छठको दोस्रो दिनलाई खरना भनिन्छ ।गाईको गोबरले लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार व्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन् ।छठको तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ भने चोथौं तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्ठी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ ।पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।छठको अवसरमा जनकपुरका गंगा सागर, धनुष सागरसहितका दर्जनौ पोखरी र वीरगञ्जको घडीअर्वा पोखरीमा पूजा गर्न भक्तजनको विशेष भीड लाग्ने गर्दछ । काठमाडौंमा कमलपोखरी, वाग्मती किनारलगायतका स्थानमा छठ मनाइन्छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia