काठमाडौं, २२ फागुन । प्रधानमन्त्री नियुक्ति हुनु अघि नै एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भ्रमणका निम्ति बोलाएका थिए ।विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका क्रममा उनले यस्तो निम्तोमात्र पठाएनन्, पत्रमा पनि लेखेका थिए । मोदी समय मिलाएर चाँडै नेपाल आउने तयारीमा रहेका बेला यो दौडलाई पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीले उछिनेका छन् ।

उनी प्रधानमन्त्री ओलीलाई बधाई दिन सोमबारै काठमाडौं ओर्लिए । पाकिस्तानसँग चिसो सम्बन्ध रहेको भारतका प्रधानमन्त्री मोदीअघि खकानको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।यसलाई भारतभन्दा अघि चीन र पाकिस्तानले दक्षिण एसीयामा नेपाललाई आफ्नो पक्षमा राख्नका लागि सम्बन्ध विस्तारको योजना अघि सारेको भारतीय उच्च अधिकारीले तयार पारेको कुटनीतिक रिपोर्टमा उल्लेख रहेको स्रोतले दाबी गरेको छ । भारतीय अधिकारीले खकानको नेपाल भ्रमणका विषयमा पनि निक्कै चासो देखाएका छन् ।

नेपालका लागि पाकिस्तानी दुतावासले आफ्ना प्रधानमन्त्रीको भ्रमण नेपाल सरकारको निम्तोमा भएको उल्लेख गर्दै बधाईका लागि खकान काठमाडौंमा ओर्लिएको उल्लेख गरेको छ । दुईपक्षीय सम्बन्ध, सार्क शिखर सम्मेलनको तयारीका लागि पनि सल्लाह लिने दुतावासले उल्लेख गरेको छ ।

खकानले समकक्षी प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीसँग भेट गरी दुई दिने भ्रमण सिध्याएर स्वदेश फर्कने उल्लेख छ । उनलाई समकक्षी ओलीले खुलामञ्चमा गार्ड अफ अनरको सम्मान समेत दिएका छन् ।तर, पाकिस्तानी अधिकारीहरूले नेपाल सरकारले विमानस्थलमा दिँदै आएको गार्ड अफ अनर खुलामञ्चमा दिनुलाई भारतीय दबाबको काम भएको ठानेका छन् ।

यद्यपि पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणले दक्षिण एसीयामा नेपालको राजनीतिक सम्बन्ध नयाँ शिराबाट सुरू हुनसक्ने अनुमान धेरैले गरेका छन् । पाकिस्तान सरकारले प्रजातान्त्रिक मुलुक नेपालसँगको दुईपक्षीय सम्बन्ध र सहयोगका लागि भ्रमण सफल हुने जनाइसकेको छ ।

‘क्षेत्रीय देशहरूको सम्बन्धको आधारलाई अझ बलियो बनाउनका लागि प्रधानमन्त्री अब्बासीको भ्रमण तय भएको हो । यसले सहयोग र सार्क क्षेत्रको आगामी बैठकको तयारीका लागि सफलता पाउनेछ’, पाकिस्तानी दूतावासले भनेको छ । पाकिस्तानले नेपालका राजनीतिक दलले सफलतापूर्वक पार गरेको लोकतान्त्रिक प्रक्रियालाई बधाई दिँदै शान्ति प्रक्रियाको टुंगो लगाउने विधिका बारेमा पनि नेपाल पक्षसँग सुझाव लिने संकेत गरेको छ ।

नेपाल सरकारले शुक्रबार मात्रै अब्बासीको भ्रमणका लागि जानकारी पठाएको थियो । पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्सालले उक्त सन्देश त्यहाँको सरकारसमक्ष पुराएपछि अब्बासीको नेपाल भ्रमण भएको हो ।

अब्बासी ३२ सदस्यीय टोलीसहित काठमाडौंमा छन् । यो भ्रमणलाई भारतीय विश्लेषकहरूले नेपालको नयाँ राजनीतिक रणनीतिका आधारमा भएको पनि टिप्पणी गरिसकेका छन् ।

कतिपयले नेपालमा बामपन्थी सरकार बहुमतमा आउनु चीनसँग पाकिस्तानको सम्बन्ध बलियो रहनुलाई जोडेर यो भ्रमणलाई व्याख्या गरेका छन् । भारतले दक्षिण एसीयामा बढाएको राजनीतिक दबाब चिर्नका लागि नेपालमा अनुकुल प्रधानमन्त्री ओलीका पालामा भ्रमण सिद्ध गराई पाकिस्तान सार्कमा नयाँ सम्बन्धका लागि अघि बढेको भनेर पनि टिप्पणी गरिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भ्रमण मिनि चीनको भ्रमण समेत भएका उच्चतहमा छलफल भएको छ । ओलीले सोमबार नै अब्बासीको सम्मानमा होटल याक एन्ड यतीमा रात्रिभोज दिएका छन् । वार्तामा पूर्वप्रधानमन्त्री र राजनीतिक उच्च नेताको सहभागीता थियो । यसअघि पाकिस्तानको ‘एडभान्स टिम’ आएर सबै तयारी पूरा गरिसकेको थियो ।

पाकिस्तानको विदेश मन्त्रालयले पनि आइतबार नै विज्ञप्ति जारी गरी दुईपक्षीय सहकार्यमा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्धलगायत आपसी हितमा छलफल हुने जनाएको थियो । मंसिर, २०७१ मा काठमाडौंमा आयोजना भएको १८ औं शिखर सम्मेलनपछि सार्क सम्मेलनको प्रक्रिया अघि बढ्न सकेको छैन । त्यसलाई अघि बढाउन प्रधानमन्त्री अब्बासीले जोड दिएका छन् ।

पूर्वराजदूत डा. दिनेश भट्टराईले पाकिस्तान सरकारले नेपालको संस्थागत भएको लोकतान्त्रिक प्रक्रियालाई हेर्न आउनु सकारात्मक पक्ष भएको बताए । उनले भने,‘यस्तो भ्रमणलाई अन्यथा लिनु हुँदैन । तर, पाकिस्तान पनि दक्षिण एसीयामा फरक प्रकारको सम्बन्ध विस्तारका लागि सक्रिय छ भन्ने बुझ्न आवश्यक छ ।’जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया