लन्डन, २३ चैत । बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मर्केलबीच आउँदो मे १९ तारिखमा विन्सोर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा भव्य विवाह हुने तयारी छ।विवाह समारोह नजिकिँदै गर्दा विश्वले यसलाई चासोपूर्वक हेरिरहेको छ। ह्यारी र मेगानले गत नोभेम्बरमा आफ्नो विवाह योजना सार्वजनिक गरेका थिए। बेलायती महारानी एलिजावेथ द्वितीयको निवास विन्सोर क्यासल विश्वमै पुरानो मानिन्छ जहाँ रानी प्रायः सप्तहान्न यही बिताउँछिन्। यही क्यासलबाट राजकुमार ह्यारीले लगनगाँठो कस्दैछन्।

करिब ८ सय जना अट्ने सेन्ट जोर्जेज च्यापल सजाउने जिम्मा फुल व्यापारी फिलिपा क्रयाडोकलाई दिइएको छ। वैवाहिक समारोहमा २६ सयभन्दा बढीलाई निमन्त्रणा गरिनेछ। बिहे समारोह र लन्च रिसेप्सनको औपचारिक निम्तो पठाइसकेपनि अतिथिहरुको नाम भने गोप्य राखिएको छ। विन्सोर क्यासलमा अतिथिबाहेक एक लाख भन्दा बढी सर्वसाधारण सहभागी हुने अपेक्षा गरिएको छ।

थेम्स भ्याली प्रहरीले समारोहको सुरक्षा जिम्मा लिएको छ। प्रहरीले यो सुरक्षा प्रबन्ध आफ्नो इतिहासमै बृहत् भनेको छ। स्नाइपरसहित तारबार घेरा, प्रत्येक सवारी साधन र झोला जाँच र विमानस्थलकै सरह स्क्यानरले आगन्तुकहरुको खानतलासी गरिने छ। बिहे समारोहमा सुरक्षा प्रदान गर्न मात्र ३० मिलियन पाउन्ड (४ अर्ब रुपैयाँभन्दा बढी) खर्च हुने बेलायती अखबारहरुले उल्लेख गरेका छन्। राजपरिवारले चर्च सर्भिससहित बिहे समारोह, संगीत, फुल र रिसेप्सनको खर्च बेहोर्ने पक्का भएको छ तर सुरक्षा खर्च भने करदाताकै पैसामा हुनेछ।

सन् २०११ अप्रिलमा ह्यारीका दाई प्रिन्स विलियम र केट मिडलटनको बिहेमा २० मिलियन पाउण्ड तथा सन् १९८१ मा ह्यारीका बाबु प्रिन्स चाल्र्स र डायना स्पेन्सरको वैवाहिक समारोहमा सुरक्षाका लागि १२ मिलियन पाउण्ड खर्च भएको थियो।

सुरक्षा प्रबन्धका लागि स्कटल्याण्ड यार्डसँग आबद्ध चारहजार दुई सय प्रहरीको बिदा समेत रद्द गरिएको छ। थेम्स नदी वरपर तालिमप्राप्त कुकुर र घोडाबाट गस्ती हुनेछ भने आधुनिक हतियारले सुसज्जित विशेष युनिट समेत खानतलासीमा खटिनेछ। नेशनल पुलिस एयर सर्भिसले पनि सुरक्षामा साथ दिनेछ। फस्र्ट बटालियन आइरिस गार्डस, रोयल नेभी, रोयल मरिन, थ्री रेजिमेन्ट आर्मी एयर कप्स, रोयल गोर्खा राइफल्स र आरएएफ होनिङटन कर्मचारी पनि समारोहमा खटिने जनाइएको छ।

प्रहरीले आफ्ना साझेदार, स्थानीय व्यापारिक प्रतिष्ठान र समुदायसँग मिलेर समारोह सुरक्षित र हर्षोल्लासमय बनाउने बताएको छ। प्रहरीले विगतमा अपराधमा संलग्न भएका वा चोरीका गाडी छुट्टयाउन अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपिआर) प्रविधि, एचभिएम ब्यारियर र सीसीटिभी समेत प्रयोग गरिने जनाएको छ।

मे १९ कै दिन अंग्रेजी खेल इभेन्टको सबैभन्दा वृहत एफए कप फाइनल हुँदैछ। प्रिन्स विलियम फुटबल एसोसिएसन (एफए) को अध्यक्ष भएकाले उक्त समारोहमा विलियम ट्रफी प्रदान गर्न जाने नजाने अहिलेसम्म निश्चित भइसकेको छैन्। कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया