काठमाडौं, २६ चैत । संयुक्त राष्ट्रसंघ (यूएन) का पूर्वउच्चअधिकारी पिटर जोन डालग्लिस बाल यौन दुराचार आरोपमा पक्राउ परेका छन् । बालबालिकाका क्षेत्रमा सामाजिक काम गरी अन्तर्राष्ट्रिय रूपमा ख्याति आर्जन गरेका पिटरलाई शनिबार काभ्रे मदनपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । ६० वर्षीय पिटर क्यानेडियाली हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी अधिकृत पिटरको प्रोफाइल हेर्दा आफैं आश्चर्यमा परेका छन् ।

पिटरले गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानी सहयोग गर्ने नाममा काभ्रेको मण्डन देउपुर नगरपालिकामा हिमालयन कम्युनिटी फाउन्डेसन नामको संस्था खोलेर बसेका थिए । प्रहरी अनुसन्धानबाट विपन्न बालबालिकालाई शिक्षासँगै विदेश पठाइदिने नाममा उनले यौन दुराचार गर्दै आएको खुलेको छ ।

उनी मण्डन देउपुरको १४ रोपनी जग्गाको कम्पाउन्डभित्र बस्दै आएका थिए । पिटरले त्यहाँभित्र रहेका बालबालिकालाई दुराचार गर्दै आएको सूचना प्राप्त भएपछि प्रहरीले निगरानी बढाएका थिए । ‘विपन्न बालबालिकाको क्षेत्रमा काम गर्ने नाममा पिटरले धेरैलाई यौन दुराचार गरेको हाम्रो ठम्याइ छ । उनी एकताका यूएनमा काम गरेबापत नीलो राहदानी बोकेर विश्व सयर गरेका व्यक्ति हुन्,’ पिटरबारे जानकारी दिँदै सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले भने । पिटरले आवरणमा विशेषगरी युद्धपीडित बालबालिका, कामदार बालबालिका तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आए पनि बाल यौन दुराचारमा भने लिप्त रहेको प्रहरीको दाबी छ ।

सीआईबीले यसअघि बाल यौन दुराचारकै आरोपमा ६ विदेशीलाई पक्राउ गरेको छ । त्यसमध्ये पिटर पनि हुन् । पक्राउपछि मुद्दा चलाइएका सबै अदालतबाट पुर्पक्षमा जेल चलान भएका छन् । कार्कीले भने, ‘अन्य मुलुकको दाँजोमा नेपालमा सजाय कम भएको र गरिबी एवं विपन्नसमेत नेपालमै बढी भएकाले पनि त्यसको फाइदा उठाएर यौन दुराचारका लागि विदेशी नागरिक नेपालमा आउने गरेको विभिन्न अनुसन्धानले देखाएको छ ।’ सीआईबीले नेपालभित्र दुराचारी छिरेको सूचना सहजै पाउने गरी नेटवर्क बनाएको जनाएको छ । सीआईबीका अनुसार बाल यौन दुराचारीको अन्तर्राष्ट्रिय सञ्जाल नै छ । खान, बस्न पनि सस्तो र सहज मुलुक रहेका कारण पनि विदेशीको नजर यहाँ पर्ने गरेको हो । बालबालिकाले हीनताबोध र लाजका कारण अरूलाई यौनहिंसाका घटना नसुनाउने हुँदा कतिपय यस्ता घटना बाहिर नआउने गरेको भनाइ डीआईजी कार्कीको छ ।

को हुन् पिटर ?

क्यानेडियाली पिटर सन् १९८८ मा ‘विश्वका १० युवा प्रतिभामध्ये एक’मा चुनिएका पिटर जुनियर च्याम्बर इन्टरनेसनल अवार्ड पाएका व्यक्ति हुन् । पिटर नेपालमा सन् २००२ मा संयुक्त राष्ट्रसंघको बाल श्रम कार्यक्रमअन्तर्गत प्राविधिक सल्लाहकारका रूपमा नियुक्ति पाए । उनले क्यानडा सरकारकै कार्यक्रमअन्तर्गत ‘युथ सर्भिस क्यानडा’ मा पहिलो स्वयंसेवा निर्देशक भएर काम गरेका थिए ।

उनी सन् २०१० देखि २०१४ सम्म अफगानिस्तानको काबुलमा युनाइटेड नेसन ह्युमेन सेटलमेन्ट प्रोग्राम (यूएन–ह्याबिट्याट) मा वरिष्ठ सल्लाहकार र उपप्रमुखका रूपमा कार्यरत थिए । सन् २०१६ मा उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) वरिष्ठ अर्बन सल्लाहकारका रूपमा काम गरे ।

उनले यूएन मिसनअन्तर्गत इबोला इमर्जेन्सी रेस्पोन्स कार्यक्रमअन्तर्गत लाइबेरियामा २०१५ जनवरीदेखि २०१६ सम्म काम गरेका थिए । तीनवटा मानार्थ विद्यावारिधि पाएका उनी ‘स्ट्रिट किड्स इन्टरनेसनल’ संस्थाका संस्थापकसमेत हुन् । उनले ‘द करेज अफ चिल्ड्रेन : माई लाइफ विथ द वर्ल्ड पुअरेस्ट किड्स’ नामक पुस्तकसमेत लेखेका छन् ।अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया