- अमर काफ्ले


इनरुवा बैशाख २१ /इनरुवा नगरपालिकाको कार्यालयले २० लाख लागत पर्ने योजना फ्रिमै सम्पन्न गर्ने भएको छ । इनरुवा नगरपालिका कार्यालय अगाडीको सडक चौडा गरी पक्की नाला सहितको कालोपत्रेको कार्य सुरु गरिसकिएको छ । बजार क्षेत्रमा संचालनमा रहेको सडक विस्तार तथा कालोपत्रे योजनामा नपरेको उक्त सडक खण्डलाई नगर प्रमुख राजन मेहताको पहलमा निशुल्क कालोपत्रे गर्न लागिएको कालिका कन्ट्रक्सन प्रालिका इन्जिनियर सञ्जय घिमिरेले जानकारी दिए ।बजार क्षेत्र सहितमा कालिकाले निर्माण कार्य जारी राख्दा नपा प्रमुखको आग्रह र शहरी बिकासको स्विकृतिमा ७० मिटर क्षेत्रको ड्रेन सहित उच्चस्तरको कालोपत्रेको कार्य अघि बढाइएको कालिका कन्ट्रक्सनका साइड इन्जिनियर घिमिरेले बताए ।


नगरको मुहार फेर्ने गरी सबैजसो क्षेत्रमा संचालनमा रहेको बिकास निर्माणसँगै कार्यालय अघिल्तिरको सडक समेत कालोपत्रे गर्न लागिएको नगर प्रमुख राजन मेहताले बताए । सबै क्षेत्रका सडक चौडा र स्तरीय बन्दै गर्दा कार्यालय अगाडीको नगरपालिकाले आफैं बनाउनु पर्ने अवस्थाको जिर्ण सडक विशेष पहल र आग्रहमा निशुल्क निर्माण गर्न लागिएको मेहताले बताए । सम्पूर्ण कार्य सम्पन्न हुँदाको अवस्था सम्ममा २० लाख बराबरको लागत लाग्ने सो सडक खण्ड कालिका कन्ट्रक्सनले फ्रिमा निर्माण सम्पन्न गरिदिने सहमति जनाएको नगर प्रमुख मेहताले बताए । मेहताले नगरपालिकाको दायित्व भित्रको सडक निशुल्क निर्माण हुनु नगरपालिका र नगरवासी दुवैकालागि खुशीको कुरो भएको बताए । मेहताले नगरपालिका स्वयंले उक्त सडक निर्माण गर्दा लाग्ने लागत बराबरको खर्च नगरभित्र संचालनमा ल्याइने अन्य आवश्यकताका क्षेत्रमा खर्चिने बताए ।

तपाईको प्रतिक्रिया