- अमर काफ्ले

अनुशासनहीन कार्य गरेको भन्दै नेपाली कांग्रेस नगर कार्य समितिको कार्वाहीमा परेका भनिएकाहरुले पत्रकार सम्मेलन गरी नगर प्रमुख समेत रहेका राजन मेहताको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् । इनरुवा खानेपानीको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वारको विरुद्धमा उभिएको भन्दै नगर कार्य समितिले कांग्रेसका दिनेश सुवेदी, अञ्जुकुमारी प्याकुरेल सहित सितोषकुमार पोखरेललाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको जनाएको थियो ।

पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पक्षले नगर सभापति राजन मेहता पदीय दम्भ र स्वार्थ लिप्त बनेको आरोप लगाएको छ । पत्रकार सम्मेलनमा बोल्दै नगरको कार्वाहीमा परेको भनिएका इनरुवा खानेपानीका निर्वाचित अध्यक्ष सुवेदीले नगर सभापतिको रवैयालाई हठ र गुण्डागर्दी शैलीबाट कार्वाहीको नाममा गरिएको नाटकको संज्ञा दिएका छन् ।

सुवेदीले चुनावीताका पार्टीको आधिकारिक व्यक्ति तय गर्ने तर्फ नभई नगर सभापतिले आफुखुशी एक्लौटी निर्णय गरी चुनावी मैदानमा उतारिएका आफ्ना निकटतम मानिएका व्यक्तिहरु पराजित बन्दा पदीय मर्यादा भूलेर कार्वाहीको निर्णय गर्नुलाई हतासको राजनीति भन्दै त्यस्ता खाले कार्यले सिङ्गो पार्टीलाई हानी पुर्याउने बताए ।

कांग्रेस जिल्ला सदस्य सितोष कुमार पोखरेलले मेहताले कार्वाही गरिएको भनिएको विषय आफैंमा हास्यास्पद र लाजलाग्दो बताएका छन् । आफ्नो स्वार्थ केन्द्रित रहेर खडा गरिएका उम्मेदवार पराजित बनेको पीडा सहन गर्न नसकी नगर सभापति मेहताले आफुहरु विरुद्ध कार्वाही गरेको भन्नु औचित्यहीन र गलत मानशिकताको पराकाष्ठा भएको पोखरेलले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका जिल्ला सदस्य रञ्जेस भट्टराईले कार्वाही प्रकृया कत्तिको सान्दर्भिक र आधिकारिक छ भन्ने विषय आफैमा उल्झनको विषय बनेको बताए । असन्तुष्ट पक्षले जिल्ला तहमा यस विषयमा आवाज उठाउन जरुरी रहेको उनले बताए । भट्टराईले इनरुवा खानेपानी संस्थामा राजनीति हावी रहेको बताउदै धाराबाट पानी बग्ने ठाउँमा राजनीति बग्ने गरेको धारणा राखे । कार्यक्रममा नगर समितिका पदाधिकारी सहित कांग्रेस सुनसरीमा आवद्ध व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

उता नगर प्रमुख समेत रहेका नेपाली कांग्रेस इनरुवाका नगर सभापति राजन मेहताले तीनैजनाले पार्टी हित विपरित कार्य गरेकाले निजहरुलाई कार्वाही गरिएको र अन्यको संलग्नताको विषयमा समेत छानविन भैरहेको बताउँदै आएका छन् ।

भिडियोको लागि यहा क्लिक गर्नुहोस:

तपाईको प्रतिक्रिया