काठमाडौँ, २८ बैशाख  । ग्यासका सिलिन्डरको सडकमा लामो लाइन । सकी नसकी काठको मुडा बोकेर हिँडेकी महिला। र, पेट्रोल पम्पअघिल्तिर रातभरी जाग्राम बसेका युवाहरुको जुलुश ।

अहिलेको काठमाडौंको चित्र यस्तो छैन। निलो शिरिष (ज्याकारान्डा) फुलिरहेको सितल सहरमा सामाजिक सञ्जाल भने माथि उल्लिखित तस्बिरलाई लिएर तातेको छ। यी तस्विर हुन् २०७२ को असोजमा शुरु भएको नाकाबन्दीको। नेपालको संविधानसभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि यसको विरोधमा मधेसकेन्द्रीत दलहरुले आन्दोलन सुरु गरेका थिए। यही आन्दोलनको समर्थन गर्दै भारतले करीब ५ महिना नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो।

भूकम्पका कारण चीनसँग नेपाल जोड्ने प्रमुख नाका तातोपानी बन्द भएका बेला भारतले लगाएको नाकाबन्दीले नेपाली जनजीवनलाई निकै गहिरोसँग प्रभावित पारेको थियो।

शुक्रबार नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले नै त्यो नाकाबन्दी लगाएको भन्दै सामाजिक सञ्जालमा उनलाई नाकाबन्दी सम्झिन आग्रह गर्दै निकै ट्विट र स्टासटसहरु लेखिएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा मोदीको भ्रमणको अघिल्लो दिन ‘#BlockadeWasCrimeMrModi’ नामक ह्यासट्याग नेपाल ट्रेन्डिङमा १ नम्बरमा रह्यो। साँझ ८ बजेर २० मिनेटसम्म यो ह्यासट्यागमा २४ हजार ३ सय वटा ट्विट भएका थिए। नाकाबन्दी र मोदीलाई नै जोडेर अरु पनि ह्यासट्यागमा ट्विट भएका छन्। फेसबुकमा पनि थुप्रैले स्टासस र फोटो पोस्ट गरेका छन्।

नाकाबन्दी बेला जनताले भोगेका दुखको स्मरण गर्दै मोदीले माफी माग्नुपर्ने यो ह्यासट्यागमा ट्विट गर्नेहरुले उल्लेख गरेका छन्। धेरैले नाकाबन्दीको बेलाका तस्बिरहरु पनि पोस्ट गरेका छन्।

भ्रमणको पूर्वसन्ध्यामा मोदीले ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा भारत सहयोगी हुने भनेर ट्विट गरे पनि नेपाली ट्विटर प्रयोगकर्ताको ठूलो संख्या भने नाकाबन्दीबाहेक भारतीय सुरक्षाकर्मीले नेपालमा गरेको रेकीको समेत विरोधमा देखिए। कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया