इनरुवा। सुनसरीका नवनियुक्त प्रहरी प्रमुख एसपी राजन अधिकारीले अपराध र अपराधीको संरक्षण आफुलाई स्विकार्य नहुने बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी सम्हाल्न इनरुवा आइपुग्नु भएका एसपी अधिकारीले संचारकर्मीहरुसँगको भेटघाटको क्रममा शान्ति सुरक्षा र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भएको हो ।

संचारकर्मीसँगको अन्र्तकृयाका क्रममा जिल्लागत अवस्थाबारे जानकारी लिनुभएका प्रहरी प्रमुख अधिकारीले अपराधीको संरक्षण र अपराधलाई प्रश्रय दिने जुनसुकै दबाब आफुलार्य स्विकार्य नहुने स्पष्ट पार्नु भयो ।

खुला सीमाबाट हुँदै आएको भनिएको तस्करी, लागुऔषध कारोबार, यौनधन्दा तथा आपराधिक क्रियाकलाप नियन्त्रण आफ्नो कार्यकालको प्रमुख उद्देश्य रहेको वहाँको भनाई थियो । नागरिकमैत्री प्रहरीको अवधारणालाई साकार तुल्याउँदै मातहतका युनिटलाई चुस्त दुरुस्त बनाउने समेत एसपी अधिकारीले विश्वास दिलाउनु भएको छ ।

भ्रस्ट प्रहरीलाई कार्वाहीको दायरामा ल्याउने बताउनु भएको अधिकारीले शान्ति सुरक्षाको सवालमा कोहीकसैसँग सम्झौता नगरिने बताउनु भएको छ । पत्रकार भेटघाट कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतीको समेत उपस्थिती रहेको थियो । सुनसरीमा प्रहरी प्रमुखसँगै प्रजिअ उप्रेती समेत नयाँ आउनु भएको हो ।

तपाईको प्रतिक्रिया