इनरुवा। नगरपालिकाको पहलमा इनरुवा अस्पतालमा ब्लड बैंक स्थापना गरिने भएको छ। स्तरउन्नतीसँगै ब्लड स्थापना हुनुपर्ने स्थानीयको मागलाई मध्यनजर गर्दै इनरुवा अस्पतालमा रक्त सञ्चार सेवा (ब्लड बैंक) स्थापनाको पहल थालिएको हो ।

इनरुवा नगरपालिका मातहतको स्वास्थ्य शाखाको आयोजनामा नगर प्रमुख राजन मेहता सहित सरोकारवालाको उपस्थितीमा बसेको बैठकले ब्लड बैंकको आवश्यकतालाई मनन गर्दै तयारीको प्रकृया थाल्ने निर्णय गरेको हो ।

तत्कालकालागि आमा सुरक्षा कार्यक्रमलाई लक्षित गरी संचालनमा ल्याइने ब्लड बैंक स्थापनाकालागि आवश्यक स्रोत साधन, कर्मचारी व्यवस्थापन लगायतका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन समिति समेत गठन गरिएको समितिका सदस्य सचिव समेत रहनु भएका स्वास्थ्य संयोजक डा. सूर्यनारायण मेहताले जानकारी दिनुभयो ।

वडाध्यक्ष अञ्जनी पोखरेल संयोजकत्वको ७ सदस्यीय टोलीको सदस्यहरुमा वसिरउद्दिन मन्सुरी, कोषराज अधिकारी, प्राविधिक रमेश गौतम, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कटवालका साथै इनरुवा अस्पतालका मेसु डा. बिना शाक्य सहित रेडक्रसका विष्णुदेव मण्डल र डा. सूर्यनारायण मेहता समितिको सदस्य सचिव रहनु भएको छ ।

तीन दिनभित्र नगरपालिकाको कार्यालयमा बुझाइने प्रतिवेदनका आधारमा अन्य प्रकृया अघि बढाइने नगर प्रमुख राजन मेहताले बताउनुभयो । अस्पतालको स्तरउन्नतीसँगै स्रोत साधनको पर्याप्तता सहितको जनताले महसुस गर्ने खाले सेवा छिट्टै प्रदान हुने नगर प्रमुख मेहताले बताउनुभयो । कार्यक्रममा उपप्रमुख जमुना गौतम, जिल्ला स्वास्थ्य प्रमुख मुकुन्दराज गौतम, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुबराज पोखरेल, रेडक्रसका रामप्रसाद मेहता सहित नगरका १० वटै वडाका वडाध्यक्ष र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया