- अमर काफ्ले

बैशाख २९ गते इनरुवा /बालबिवाह कानुनद्धारा वर्जित छ । यद्यपी हाम्रो समाजभित्र कतिपय यस्ता समूदाय छन् जहाँ आफ्ना छोराछोरीको सानै उमेरमै बिवाह गरिन्छ ।अति विपन्न त्यसमा पनि दलित समूदायभित्र बालविवाह अझै कायमै छ । गाँसबास र कपासकालागि दैनिकी कष्टकर भएकाको हकमा त छोरीलाई समेसम्म सानै उमेरमै परायालाई सुम्पिने परिपाटी अझै रोकिन सकेको छैन् ।जसको ज्वलन्त उदाहरण हुन् सुनसरी इनरुवाकी १३ वर्षिया ममता मरिक । एकवर्ष अघि घरपरिवारबाट बालविवाह गराइएकी ममता यतिवेला इनरुवा अस्पतालको शैयामा छिन् ।छोरी जन्माएको निहँुमा परिवारले समेत घर निकाला गरिदिएपछि आमासँगै काखे नबालकको बिचल्ली भएको छ ।
सुनसरीको इनरुवा अस्पतालको वेडमा गएको चारदिनयता एक बालिका भर्ना छिन् ममता । ममताको उमेर मात्रै १३ वर्षको छ । काखमा रहेको बच्चा हेर्दै माया लाग्दो छ । स–साना हात खुट्टा भएको बच्चा कुपोषित छ ।


बच्चालाई काखमा लिने अरु कोही हैन् । त्यही नाबालक बच्चाकीमा १३ वर्षिया आमा ममतानै हुन् ।ममतालाई मातृत्व के हो त्यो त परको कुरा आफ्नो स्याहार कसरी गर्ने समेत ख्याल छैन् । स्तनपान गराउनै जान्दिनन् । बच्चा कसरी समात्ने र स्याहार सुसार गर्ने भन्नेमा उनि पूर्णतः अनभिज्ञ छिन् ।उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको भनाईमा आमाको उमेर परिपक्क नभएकाले बच्चालाई खुवाउने दुध समेत पर्याप्त छैन् । पौष्टिक आहार र उचित हेरचाहको अभावमा बच्चा कुपोषित छ । आमाको स्वास्थ्यमा समेत समस्या देखिएको डा. तुषार झा बताउँछन् ।
एक वर्ष अघि सिरहाको गोलबजार घर भएका प्रकाश मरिकसँग बिवाह गरेकी ममता छोरी जन्माएपछि पारिवारिक हिंसाको शिकार भएकी छिन् ।


छोरी जन्माएको भन्दै श्रीमान र परिवारका सदस्यले ज्यान मार्ने धम्की दिएको बताउने पीडित बालिका आफुलाई खान लाउन नदिई घर परिवारले तिरस्कार गरेको बताउँछिन् । ममताले आफुलाई श्रीमान् सहित परिवारका सदस्य मिलेर घरबाट लखेटिएको बताइन् ।
घरपरिवारबाट अपहेलित र हिंसाको शिकार बनेकी ममता माइतीको शरणमा पुगेपनि दयनिय अवस्थाका बाबुआमासँग केही गर्ने सार्मथ्य छैन् ।बाबु ढोगाई मरिक बनिबुतो गरी खाने परिवार भएकाले आमा र बच्चाको हेरचाह र खानपिन तथा उपचार गराउन सक्ने अवस्थानै नरहेको बताउँछन् ।रगतको अभाव, मुटुको समस्या जस्तो अवस्थाबाट गुर्जिएकी आमालाई मात्र हैन् कुपोषित रहेको बच्चा दुवै बाँच्छन् बाँच्दैैनन् अन्यौलकाबिच उनिहरुलाई अस्पतालका स्वास्थ्यकर्मीहरुले भर्ना गरेको बताए ।अस्पतालले आमा र बच्चा दुवैको स्वास्थ्यमा सामान्य सुधार देखिएको बताएपनि डिसचार्ज पश्चातको अवस्था यकिन गर्न भने नसकिने जनाएको छ ।


अस्पतालले भर्ना भएदेखिको अवस्थाबाटनै १३ वर्षिया आमा र उनको सानो नानीको उपचार निशुल्क गर्दै आएको जनाएको छ ।
बालबिवाहकै कारण संकटमा परेको ममता मरिकको जीवन उनको श्रीमान र परिवारका सदस्यले घर निकाला गरिदिएपछि थप समस्यामा परेको छ ।आफु र आफ्नो सन्तानको भविष्य के होला भन्ने चिन्तामा डुबेकी १३ वर्षिया बालिका आमा ममताले आफुलाई श्रीमान र परिवारको साथ दिलाइदिन सरोकारवाला समक्ष आग्रह गरेकी छिन् ।नेपालमा बालबिवाह कानुनन वर्जित रहेपनि त्यसलाई कतिपय अभिभावकहरुले आफुहरुको बाध्यता भएको बताउने गरेका छन् । बालअधिकारका सवालमा काम गर्ने संघसंस्थाले जारी गरेको प्रतिवेदन र वास्तविकतालाई नियाल्ने हो भने समाज भित्र बालबिवाह नरोकिनुलाई विशेष गरी दलित र अति विपन्न परिवारको बाध्यात्मक परिपाटी भनेर चित्रित गरेको पाइन्छ ।जसमा उल्लेख भएअनुसार केटातर्फ घरमा काम गर्ने सदस्य थपिने र केटी पक्षको हकमा आफुबाट दायित्व पन्छिने खालका अभिभावकिय सोचले बालबिवाहलाई प्रश्रय दिइरहेको छ । जहाँ सानै उमेरमा गरिने बिवाहले निम्त्याउने सम्भावित खतराको आकंलन भने कहीकतै भएको पाइदैन् ।

तपाईको प्रतिक्रिया