भद्रपुर । प्रहरीले झापाको काँकडभिट्टामा यात्रुवाहक बसमा बम विस्फोट गराएको आरोपमा नेत्रबहादुर चन्द ’विप्लव’ नेतृत्वको नेकपामा आवद्ध एक महिला कार्यकर्तालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्ने नेकपा मेचीनगरका न्याय विभाग प्रमुख मेचीनगर ८ निवासी २६ बर्षीय स्मृति रिजाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

पक्राउ परेकी उनलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखिएको छ । घटना विवरण अनुसार मेचीनगर नगरपालिका स्थित सुर्योदय यातायात प्रा.लि. द्धारा सञ्चालित मे १ ख २७२६ र मे १ ख २७३३ नम्बरको यात्रुवाहक बसमा आइतबार विहान बम विस्फोट गराएको बताइएको छ । बिस्फोटबाट दुई बसमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । सोही बसमा विस्फोट गराएको आरोपमा रिजाल पक्राउ परेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

त्यसैगरी दमक नगरपालिकास्थित दमक बस पार्कमा शंकास्पद बस्तु फेला परेको छ। सानो गोलो आकारको कालो रंगको शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । बम वा अरु कुनै वस्तु हो, यसका लागि नेपाली सेनाको बम निस्कृय टोली घटना स्थल पठाइसकेको प्रहरी कार्यालय झापाले जनाएको छ । यता नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले अरुण–३ शिलन्यास लगायतका राष्ट्रघाती सम्झौता भएको भन्दै आइतबार गरेको नेपाल बन्दको प्रभाव झापामा आंशिक परेको छ ।

तपाईको प्रतिक्रिया