याँदिल्ली, १ जेठ  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण (२८–२९ वैशाख) बारे भारतमै प्रश्न उठेको छ।उनको भ्रमणबारे नेपालको संघीय संसद्मा चर्काचर्की चलिरहेका बेला भारतका प्रमुख राजनीतिक दलबीच पनि आरोप–प्रत्यारोप सुरु भएको छ।

नेपाल भ्रमणका क्रममा मोदीले प्रमुख हिन्दु तीर्थस्थल जनकपुरधाम, पशुपति र मुक्तिनाथ भ्रमण गरेको विषयमा सत्ताधारी दल भारतीय जनता पार्टी र प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेसबीच आरोप–प्रत्यारोप चलेको हो।

प्रतिपक्षी कंग्रेसले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएको हिन्दु धार्मिक तीर्थाटनप्रति आपत्ति जनाएको छ। उक्त भ्रमण नेपालसँगको सम्बन्ध सुधार्नभन्दा कर्नाटकको चुनाव प्रभावित गर्न लक्षित भएको आरोप कंग्रेसको छ।

कंग्रेसका महासचिव तथा वरिष्ठ नेता अशोक गहलोतले मोदीको भ्रमणलाई दक्षिण भारतीय राज्य कर्नाटकको चुनाव प्रभावित पार्ने नियतले गरिएको दाबी गरे। कर्नाटकका हिन्दु मतदाता प्रभावित गर्न मोदीले जनकपुर, पशुपति र मुक्तिनाथ दर्शन गरेको आरोप उनले लगाए।

राजस्थानका पूर्वमुख्यमन्त्री गहलोतले मोदीको नेपाल भ्रमणको साइत नियतवश नै कर्नाटक चुनावको समयमा पारिएको र निर्वाचन आचारसंहिताको धज्जी उडाइएको समेत बताए। सोही दलका प्रवक्ता टोम वडक्कनले पनि समयका हिसाबले मोदीको भ्रमणमाथि प्रश्न गर्ने प्रशस्त ठाउँ रहेको बताए। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया