- अमर काफ्ले

घरेलु हिंसाको शिकार बनेकी इनरुवाकी ममता मरिकको थप उपचारको प्रयास विफल भएको छ । छोरी पाएको निहुँमा घरबाट लखेटिएकी ममता नाबालक शिशु सहित इनरुवा अस्पतालमा उपचाररत थिइन् । अधिकारकर्मीहरुको पहलमा उनलाई हिजो दिउँसो काठमाण्डौं लैजाने तयारी गरिएको भएपनि एयरलाइन्सले लैजान नमानेपछि पूनः उनलाई इनरुवा अस्पताल फिर्ता लगी भर्ना गरिएको छ ।

छोरी पाएको निहुँमा घरेलु हिंसाको शिकार भई अस्पतालको शरणमा पुगेकी ममता मरिकको मुहारमा पलाएको आशाका किरणहरु एकाएक ओझेल परेका छन् । शिशु सहित १३ वर्षिया आमा ममतालाई अधिकारकर्मीहरुको पहलमा हिजो दिउँसो २:३० बजेको फ्लाइटमा काठमाण्डौं लैजान भन्दै बिराटनगर विमानस्थल लगिएको थियो ।

तर यति एयरलान्सका कर्मचारीहरुले आमा र शिशुको अवस्थालाई जोखिम भन्दै लैजान मानेन्न। त्यसपछि उनलाई पूनः इनरुवा अस्पतालमै फिर्ता ल्याइएको छ । ममतालाई लिएर विमानस्थल पुगेका स्थानीय समाजसेवी राकेश निरौलाले एयरलान्सका कर्मचारीले अन्तिम समयमा आएर लैजान नमानेको बताए ।

अब ममता सहित शिशुको स्थानीय तहमा उपचार तथा पुर्नस्थापनाको पहल चालिने निरौलाल बताए। काठमाण्डौंको ललितपुर स्थित चापागाउँमा रहेको नेपाल युथ फाण्डेसनले १३ वर्षिया बालिका आमा ममता सहित उनको शिशुको उपचार सहित पूर्नस्थापनाको जिम्मा लिने बताएको थियो । ममतालाई उनको श्रीमान सहित परिवारका सदस्यले छोरी पाएको निहुँमा ज्यान मार्ने धम्की दिँदै सिरहाको गोलबजारमा रहेको घरबाट लखेटेका थिए । बालबिवाह गरिएकी ममता गोलबजारका प्रकाश मरिककी कान्छि श्रीमति हुन् । प्रकाशकी जेठी श्रीमति र दुई छोराछोरी हुँदाहुँदै अभिभावकले ममताको बालबिवाह गरिदिएको थियो ।

तपाईको प्रतिक्रिया