- अमर काफ्ले


इनरुवा/श्रमकालागि विदेश पलायन भएकाहरु अधिकांशको पहिलो प्राथमिकता भनेको धन आर्जन नै हो । चर्को घाम र दिनरात नभनी श्रमकालागि पसिना बगाउनेहरु मध्ये केही त्यस्ता उदाहरण पनि छन् जसले विदेशमा कमाएको रकम संचित गरि आफ्नो देशका बालबालिकाको शिक्षादीक्षामा खर्चिरहेका छन् ।सुनसरी सृजनशिल नेपाल र महेन्द्रनगर सुनसरी सेवा समाज दुवै वैदेशिक रोजगारीकालागि कतार भासिएका नेपाली युवाहरुको समूह हो । सुनसरी सहित पूर्वका विभिन्न जिल्लाबाट कतारमा रोजगारीको क्रममा रहेकाहरुको साझा संगठन सुनसरी सृजनशिल परिवारले संस्था दर्तासँगै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ ।कतारमा समेत शाखा रहेको सृजनशिल परिवारले विशेषगरी शैक्षिक क्षेत्र सुधार,भौतिक पूर्वाधार निर्माण र शैक्षिक सामाग्री हस्तान्तरण जस्ता कार्यहरु गर्दै आएको छ ।

प्राथमिकताका आधारमा शैक्षिक संस्था छनौट गरी विगतका वर्षदेखिनै संस्थाले सहयोग उपलब्ध गराउँदै आएको छ । दजर्नबढी विद्यालयलाई भौतिक पूर्वाधार निर्माणकालागि नगद सहितको सहयोग उपलब्ध गराइसकेको सृजनशिलले खासगरी सरकारी पहुँच कम रहेका क्षेत्रमा संस्थागत सहयोग उपलब्ध गराउने गरेको छ ।सृजनशिलको समूहले सुनसरीको विकट मानिने बराहक्षेत्र ६ महेन्द्रनगरमा पर्ने श्रीलंकाको चिलैया टापुमा गएको वर्षदेखिनै शैक्षिक सहयोग उपलब्ध गराउँदै आएको छ । अघिल्लो वर्ष बालसेवा आधारभूत विद्यालयको भौतिक पूर्वाधार निर्माणकालागि नगद ५० हजार सहित छात्रवृतिका साथै शैक्षिक सामाग्री वितरण गरेको संस्थाले यस पटक समेत नगद ५० हजारका साथै कमप्युटर र शैक्षिक सामाग्री उपलब्ध गराएको छ ।


त्यसैगरी सो विद्यालयलाई सहयोगी संस्था महेन्द्रनगर सुनसरी सेवा समाजले समेत सहयोग उपलब्ध गराएको छ । समाजले विद्यालयलाई एकथान कमप्युटर उपलब्ध गराएको छ । विद्यालयले अघिल्लो वर्षनै समाज समक्ष कमप्युटरको माग गरेको थियो । समाजका निर्वतमान अध्यक्ष नारायण सुवेदीको पहलमा महेन्द्रनगर सुनसरी सेवा समाजले विद्यालयमा विशेष कार्यक्रमकाबिच कमप्युटर हस्तान्तरण गरिएको जनाएको छ ।


समाजका प्रथम उपाध्यक्ष प्रदीपकुमार राईको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा समाजका पदाधिकारी सहितकाले सहयोग सामाग्री विद्यालयलाई हस्तान्तरण गरेका थिए । महेन्द्रनगर सुनसरी सेवा समाज कतारका नेपाल संयोजक खगेन्द्र गडतौला सहितकाले संयुक्त रुपमा कमप्युटर विद्यालयका प्रअ धनकुमारी राईलाई हस्तान्तरण गरेका हुन् । राईले आवश्यक्ताका क्षेत्रमा अन्य सहयोग उपलब्ध जारी राख्ने समेत बताए । सोही विद्यालयमा संयुक्त कार्यक्रम गरेको सृजनशिलले भने अन्य सहयोग उपलब्ध गराएको थियो ।सृजनशिलले संस्थाका सुनसरीका अध्यक्ष पुष्प कार्की, कतार शाखाका उपाध्यक्ष सन्तोष श्रेष्ठ, सचिव कैलाश कार्की, कोषाध्यक्ष उमेश पोखरेल लगायतकाले वडाध्यक्ष श्यामबहादुर लिम्बुको रोहवरमा प्रधानाध्यापक धनकुमारी राईलाई नगद सहित शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।


त्यसैगरी बराहक्षेत्र ३ मा रहेको जालपा आधारभूत विद्यालयमा अध्ययनरत ९३ जना विद्यार्थीहरुलाई समेत संस्थाले छात्रवृति सहित शैक्षिक सामाग्री वितरण गरिएको थियो । सो कार्यक्रममा वडाध्यक्ष रुद्र दाहाल, प्रअ अनुषा बन लगायतको उपस्थिती रहेको थियो । संस्थाले बराहक्षेत्र ९ मा रहेको हुल्की आधारभूत विद्यालयमा समेत शैक्षिक सामाग्री वितरण गरेको थियो । कार्यक्रममा कल्पना कार्की, सीता श्रेष्ठ, खगेन्द्र गड्तौला, कल्पना कार्की लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया