- अमर काफ्ले


जेठ १ इनरुवा /नाबालिकाकी १३ वर्षीया आमा ममता मरिकलाई बिराटनगरको नोबेल अस्पतालमा भर्ना गरिएको छ । स्वासप्रस्वास र मुटुमा समस्या देखिएपछि उनलाई नोबेल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।

१२ वर्षको उमेरमा बिवाह गरिएकी ममतालाई उनको परिवारले छोरी पाएको निहुँमा ज्यान मार्ने धम्की दिँदै घरबाट निकालेको थियो । ज्यान मार्ने धम्की पश्चात माइती आएकी ममता इनरुवा अस्पतालमा उपचाररत थिइन् । थप उपचारकालागि अघिल्लो दिन उनलाई काठमाडौं पठाउन लागिएपनि एयरलाइन्सले उडाउन नमानेपछि उनलाई इनरुवा फर्काइएको थियो ।

अधिकारकर्मीहरुको पहलमा बालिका आमा सहित शिशुको थप उपचार तथा पुर्नस्थापनाका लागि बिराटनगर स्थित कोशी अञ्चल अस्पतालमा पुर्याइएकोमा चेकअपको क्रममा आमाको स्वास्थ्यमा खराबी देखिएको थियो । कोशी अञ्चल अस्पतालले बिरामी भर्नाका स्थान अभाव रहेको बताएपछि नोबेल अस्पतालमा लगेर भर्ना गरिएको ममताको सहयोगमा जुटेका इनरुवाका स्थानीय युवा राकेश निरौलाले जानकारी दिनुभयो ।
ममतालाई उनको श्रीमान सहित परिवारका सदस्यले छोरी पाएको निहुँमा ज्यान मार्ने धम्की दिँदै सिरहाको गोलबजारमा रहेको घरबाट लखेटेका थिए । ममताको बच्चा कूपोषित रहेको छ भने आमा र बच्चा दुवैको स्वास्थ्यमा समेत गम्भिर समस्या देखिँदै आएको छ ।
बालबिवाह गरिएकी ममता गोलबजारका प्रकाश मरिककी कान्छि श्रीमति हुन् । प्रकाशकी जेठी श्रीमति र दुई छोराछोरी हुँदाहुँदै अभिभावकले ममताको बालबिवाह गरिदिएको थियो ।

तपाईको प्रतिक्रिया