दाङ, २ जेठ । तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिकाको ३०औँ बैठकले विभिन्न विधेयक र कार्यविधिहरु पारित गरेको छ।नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले सहकारी विधेयक २०७५, न्यायिक समितिको कार्यविधि नियमित गर्न बनेको विधेयक २०७५, तुलसीपुर उपमहानगरपालिकाको प्रशासन नियमित गर्न बनेको विधेयक २०७५ र राजपत्र प्रकाशन गर्नेसम्बन्धी कार्यविधि २०७५ लगायतका ऐन तथा कार्यविधिहरु पारित गरेको हो।

कार्यपालिकाको बैठकले सामुदायिक र संस्थागत विद्यालयको कक्षा थप र स्थानान्तरणका लागि प्राप्त निवेदनउपर छलफल गरेर शिक्षा शाखा तुलसीपुरले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जनसहित सदर गरेको छ।प्रतिवेदनमा थप एक कक्षा सञ्चालनका लागि निवेदन दिएका विद्यालयले वडा कार्यालयको सिफारिस, नजिकको विद्यालयको सहमति र भौतिक पूर्वाधारको विवरण पेश गर्नुपर्ने उल्लेख छ।

माथिल्लो कक्षा माग गरेर त्योभन्दा पनि माथिल्लो कक्षा सञ्चालन गरेका विद्यालयलाई कार्यविधिमा उल्लेख गरेबमोजिम कारवाही गरेर कक्षा बन्द गर्न निर्देशन दिनेसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ।नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया