- अमर काफ्ले


नोबेल अस्पताल बिराटनगरमा उपचाररत १३ वर्षीया आमा ममता मरिक सहित उनको नाबालिका छोरीको उपचारमा गढी गाउँपालिकाको कार्यालयले अग्रसरता देखाएको छ । साविक इनरुवा हालको गढी गाउँपालिकाको सत्तेरझोरा होलैया माइती भएकी ममतालाई मुटु र स्वासप्रस्वास सम्वन्धि समस्या देखिएपछि नोबेलको आकस्मिक कक्षमा भर्ना गराइएको थियो ।

नोबेलमा बिरामीको भर्ना प्रकृया लगायतको अन्य व्यवस्थापकिय कार्यमा इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना पोखरेलले सहयोग गरेकी थिइन् ।अति विपन्न र अशक्त परिवार भएकी ममताको बेड भर्नासँगै औषधोपचार लगायतको अन्य बन्दोवस्तीमा उपप्रमुख पोखरेलले सहयोग गरेकी थिइन् भने स्थानीय युवा राकेश निरौलाले उनलाई साथ दिएका थिए । तत्कालकालागि केही रकम जोहो गरी ममता सहित उनको बच्चाको उपचार अघि बढाएकी पोखरेलले गढी गाउँपालिकासँग समन्वय गरी आमा र बच्चाको थप उपचारको बन्दोवस्ती मिलाएकी छिन् ।

गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, उपप्रमुख राजकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शिवकुमार निरौलाका साथै इनरुवा नपाकी उपप्रमुख जमुना पोखरेल, सहित ममताको सहयोगमा जुट्दै आएका राकेश निरौला लगायतको उपस्थितीमा भएको छलफलले १३ वर्षीया आमा र नाबालिका छोरीको उपचार तथा पुर्नस्थापनामा कमी हुन नदिने प्रतिवद्धता जनाएका छन् । उपचाररत आमा छोरीकालागि गढी गाउँपालिकाले तत्कालकालागि १० हजार नगद उपलब्ध गराएको छ । गाउँपालिकासँग स्वास्थ्य सम्झौता गरेको नोबेल अस्पतालमा ममता र उनको बच्चाको निशुल्क उपचार लगायतको प्रकृया अघि बढाउने गाउँपालिका अध्यक्ष यादवले बताएका छन् ।

गढी गाउँपालिकाकी उपप्रमुख चौधरीले १३ वर्षीया आमा छोरीको उपचार सहित थप व्यवस्थापनको जिम्मा लिएसँगै प्रमुख यादव, उपप्रमुख चौधरी सहित निर्वाचित जनप्रतिनिधी र कार्यालयका कर्मचारीले अस्पताल पुगेर बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
कूपोषित बच्चा र अस्वस्थ आमा दुवैलाई नोबेलमै राख्ने वा कोशी अञ्चल अस्पतालमा ल्याएर भर्ना गरी ओसियमसी मार्फत पुर्नस्थापन लगायतको प्रकृया अघि बढाउने भन्ने विषय यकिन भैनसकेको गढी गाउँपालिकाकी उपप्रमुख चौधरीले बताइन् । इनरुवा र गढीका उपप्रमुखले आपसी समन्वय कायम गरी हिंसाको शिकार भएकी ममता सहित उनको बच्चाको उपचार लगायतको पाटोमा अघि बढ्ने सहमति जनाएका छन् ।

ममतालाई बच्चा सहितको उपचार तथा पुर्नस्थापनाकालागि अघिल्लो दिन कोशी अञ्चल अस्पताल पुर्याइएकोमा स्वास्थ्यमा खराबी देखिएपछि भर्नाकालागि बेड अभाव रहेको कोशी अञ्चल अस्पतालबाट नोबेल पुर्याइएको थियो । बालबिवाह पश्चात छोरी जन्माएको निहुँमा श्रीमान सहित परिवारबाट गलहत्याइएकी ममताको विषयमा समाचार प्रकाशन तथा प्रशारण पश्चात केही सहयोगी हातहरु ममताको पक्षमा जुटेका थिए । यद्यपी ममताले पाउनुपर्ने पर्याप्त साथ र सहयोग भने पाउन सकेकी छैनन् । ममताको स्वास्थ्य थप गम्भिर बन्दै जाँदा नाबालिकाको अवस्था समेत नाजुक बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया