काठमाडौं, २३ जेठ । एनआइसी एसिया बैंकको साढे ४६ करोड रुपैयाँ ह्याक गर्ने समूह उत्तर कोरियाली ‘लजारुस ग्रुप’ भएको खुलेको छ ।३ कात्तिक ०७४ मा एनआइसीको ४६ करोड ५६ लाख ५० हजार पाँच सय ५० रुपैयाँ ‘स्विफ्ट ह्याक’ गरी लजारुस ग्रुपले विदेशका विभिन्न बैंकमा पु-याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानबाट पत्ता लागेको हो ।

सिआइबीका प्रवक्ता एसपी बुद्धिराज गुरुङले बैंक ह्याक गरी विदेशी बैंकमा रकम लैजाने उत्तर कोरियाली ह्याकर रहेको खुलेको बताए । उनले भने, ‘एनआइसी एसिया बैंक ह्याक गरी साढे ४६ करोड रुपैयाँ विदेशी बैंक लगिएको र त्यसमध्ये झन्डै सात करोड रुपैयाँ ह्याकरको हातमा परिसकेको विषयमा सिआइबीले अनुसन्धान ग-यो ।

यस क्रममा बैंक ह्याक गर्ने समूह लजारुस ग्रुप रहेको खुलेको छ । यो अन्तर्राष्ट्रिय कुख्याती कमाएको ग्रुप हो । यसलाई ‘हिडेन कोब्रा’ पनि भनिन्छ । यसले संसारका अन्य बैंक र कम्पनी पनि ह्याक गरेको खुल्न आएको छ ।’

ह्याकर समूहले एनआइसीको उक्त रकम ह्याक गरी आठ मुलुकका विभिन्न बैंकमा ट्रान्सफर गरेको थियो । त्यसमध्ये ६ करोड ८० लाख ७१ हजार एक सय ८२ रुपैयाँ भने अझै फिर्ता हुन सकेको छैन ।

प्रहरीका अनुसार यो रकममध्ये चारवटा अर्डरबाट ह्याकरले ४ करोड ५२ लाख २९ हजार रुपैयाँ लिइसकेको छ । अरू ३९ करोड ७५ लाख ७९ हजार ३ सय ६८ रुपैयाँ भने ‘करेन्सपोन्डेन्ट बैंक रिलेसन’का आधारमा बैंकमै फिर्ता भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia