काठमाडौं, ३० जेठ । नेपालमा मनसुन प्रवेशको घोषणा गरेको पाँच दिन बितिसक्दा पनि अझै मनसुन पूर्णरुपमा सक्रिय भएको छैन।

जल तथा मौसम विज्ञान विभागले यही जेठ २५ गते (जुन ८, २०१८ मा) नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो।

अहिले पूर्व र मध्यका केही क्षेत्रमा सक्रिय भएको मनसुन पश्चिमसम्म फैलन अझै केही दिन लाग्ने मौसमविद् वरुण पौडेलले बताए।

पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहे पनि औषत वर्षा बढीमा ४५ मिलिमिटरमात्र भएको छ। हल्कादेखि मध्यमखालको वर्षा भएको हुँदा केही दिन बाढीलगायत प्रकोपको सम्भावना नरहेको मौसमविद् पौडेलको भनाइ छ।

उनका अनुसार पश्चिमी भेगमा मनसुन सक्रिय हुन अझै केही समय लाग्ने भएकाले ती क्षेत्रमा केहीदिन बढी गर्मी हुनेछ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंमा १५ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा बढी धनकुटामा ४१, सिमरामा २७, विराटनगरमा १५ र ओखलढुङ्गामा पाँच मिलिमिटर वर्षा भएको छ।

काठमाडौं उपत्यकामा बिहान र साँझपख हल्का वर्षा हुने गरे पनि मध्याह्न घाम चर्कने र दिउँसो बदली हुने क्रम जारी छ। क्षणिक बदली हुने र घाम लाग्नेक्रमले गर्दा उपत्यकामा बढी गर्मी महसुस गरिएको हो।

तीनदिनयता काठमाडौंको अधिकतम तापक्रम ३१ देखि ३१.५ सेल्सियससम्म पुगेकामा आज ३० डिग्री सेल्सियसमा झरेको छ।

यसअघि यही जेठ १२ र १३ गते यो वर्षकै बढी तापक्रम क्रमशः ३१ र ३१.५ सेल्सियस पुगेको थियो। अघिल्लो वर्ष सन् २०१७ जुन महिनामा काठमाडौंको बढीमा ३२ डिग्री तापक्रम पुगेको महाशाखाले जनाएको छ। नेपाल समाचापत्र दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia