काठमाडौं, ३१ जेठ । संसद नियमावली पास भएर प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि नियुक्ति प्रक्रिया शुरु भएको छ ।संवैधानिक परिषद्ले मंगलबार प्रधानन्यायाधीशमा जोशीलाई सिफारिस गरेको थियो । उता, अख्तियारको प्रमुख आयुक्त पद चार महिनादेखि रिक्त रहँदै आएको छ ।

आयोगमा नवीन घिमिरे कामु प्रमुख आयुक्त छन् । आयोगको प्रमुख आयुक्त पदमा घिमिरे नै प्रमुख दाबेदार रहेको चर्चा भएपनि अहिले तीन जनाको नाम बाहिर आएको छ ।अख्तियारको प्रमुख आयुक्तका लागि पूर्व मुख्य सचिव एवम् चीनका लागि नेपालका राजदूत लिलामणी पौडेल, गृह सचिव प्रेमकुमार राई र पूर्व गृहसचिव सूर्यप्रसाद सिलवालको नाम चर्चामा रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने गृह सचिव राईलाई नै प्रमुख आयुक्त बनाउने सोचमा रहेका छन् ।

त्यस्तै, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने पौडेललाई प्रमुख आयुक्त बनाउन चाहन्छन् । राजेन्द्र महतो आपूर्ति मन्त्री छँदा आपूर्ति सचिव रहेका सिलवाल पनि अथाहा पैसा कमाएर अख्तियार जान खुट्टा उचालेर बसेका छन् ।

यता, पूर्व महान्यायधिवक्ता युवराज संग्रौलाले पनि आयोगमा नियुक्तिका लागि दाबी गरेका छन् भने पूर्व मुख्यसचिव राजकिशोर क्षत्रीले पनि प्रमुख आयुक्त बन्न चलखेल गरिरहेका छन् । तर, यी दुईको संभावना अत्यन्तै न्यून छ ।

त्यसो त कामु प्रमुख आयुक्त रहेका घिमिरेलाई प्रमुख आयुक्त बनाउनु पर्ने माग पनि नेकपा भित्रबाट उठेको छ । घिमिरे नै प्रमुख आयुक्त बनेको खण्डमा आयुक्तको एक पद खाली हुने देखिन्छ ।

यदि त्यसो भएको खण्डमा पूर्व एआईजी केशरीराज घिमिरे, पूर्व सचिव शान्तराज सुवेदी र अख्तियार कै पूर्व सचिव श्रीधर सापकोटा आयुक्त बन्न लबिङमा जुटेका छन् । पूर्व एआईजी घिमिरे प्रचण्डका विश्वासपात्र हुन् ।

प्रमुख आयुक्त पदको दौडमा रहेका गृहसचिव राई टंकमणी शर्माको शैलीमा नियुक्ति खान खोजिरहेका छन् । प्रधामन्त्री कार्यालयमा सचिव रहेका बेला शर्मालाई एकैपटक बढुवा गरी महालेखा परिक्षकमा नियुक्ति गरिएको थियो । सोही शैलीमा राई अख्तियारमा जान खोजेका छन् ।

तर, राईका लागि प्रमुख आयुक्त पद नसुहाउने टिप्पणी हुन थालेको छ । राईकै कारण आजसम्म पनि नेपाल आयल निगमको कार्यकारी निर्देशक पदबाट भर्खरै राजीनामा दिएका गोपाल खड्काको भ्रष्टाचार छानविन हुन सकिरहेको छैन ।

राई आपूर्ति सचिव हुँदा आयल निगमले भैरहवा, चितवन, सर्लाही, झापालगायतका जिल्लामा डेढ अर्व भन्दा बढिको जग्गा खरिद गरेको थियो ।

उक्त जग्गा खरिदको घोटलामा मुछिएका थिए, कार्यकारी निर्देशक खड्का । जग्गा खरिदका लागि निर्णय गर्ने सञ्चालक समितिको अध्यक्ष थिए, उनै राई । कार्यान्वयन गर्ने खड्का भ्रष्टाचारमा तानिए तर निर्णय गर्ने राईमाथि भने कुनै छानविन भएन ।अख्तियारको सचिवमा राई छँदा खड्कामाथि लागेको भ्रष्टाचारको मुद्दा अगाडि बढाउन समेत दिएका थिएनन् । त्यसको कारण हो आफूपनि तानिने डर ।

अख्तियारले अहिले पनि राइकै कारण खड्काको मुद्दालाई तामेलिमा राखेको छ । यसरी भ्रष्टाचारीलाई बचाउने राई आफै अख्तियारको प्रमुख बनेको खण्डमा कति भ्रष्टाचारीहरुले उन्मुक्ति पाउलान ? अख्तियार भित्रकै कर्मचारीहरु प्रश्न गर्छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia