२५ असार ।  तीन विद्यार्थी संगठनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुखलगायत पाँच जनालाई आइतबार सात घण्टा कार्यकक्षमै थुनेका छन् ।क्याम्पस प्रमुख बाबुराम तिम्सिना, सहायक प्रमुख सुशील अधिकारी, ताराप्रसाद यादव, मोहनकुमार श्रेष्ठ र सामान्य प्रशासन प्रमुख गुदरप्रसाद यादवलाई थुनेका हुन् । १९ बुँदे सहमतिपछि उनीहरूलाई मुक्त गरेका थिए ।

अखिल, अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी संगठनले क्याम्पस प्रमुख तिम्सिनाको कार्यकक्षमा तालबन्दी गरी अपरान्ह १२ बजेदेखि साँझ ७ बजेसम्म थुनेका थिए । पाँच घण्टा थुनिएपछि क्याम्पस प्रमुख तिम्सिना वार्ता गर्न तयार भएको नयाँ शक्ति विद्यार्थी संगठनका क्याम्पस इकाइ इन्चार्ज कमल पोख्रेलले बताए ।

‘क्याम्पस प्रमुखकै कार्यकक्षमा बसेर १९ बुँदे सहमति गरेपछि मुक्त गर्‍यौं,’ उनले भने, ‘क्याम्पस प्रशासनले गरेको एमपीएसको शुल्क वृद्धि फिर्ता र विद्यार्थीबाट असुलेको बढी शुल्क आउँदो सेमेस्टरमा समायोजन गर्नेलगायत १९ बुँदे सहमति भएको छ ।’

क्याम्पस प्रशासनले एमपीएसको शुल्क १९ हजार ९ सयबाट वृद्धि गरेर २२ हजार ६ सय पुर्‍याएको थियो । क्याम्पसमा हाजिर गरेर काम नगरी बस्ने कर्मचारी र प्राध्यापकको दरबन्दी खारेज, बीबीए विभाग प्रमुखको नियुक्तिमा निष्पक्षता, क्याम्पसको आयव्यय सार्वजनिक, नियमित पठनपाठनको व्यवस्था गरेर क्याम्पसको शैक्षिक गुणस्तर कायम गर्नेलगायत सहमति भएको उनले बताए ।

अखिलका क्याम्पस इकाइ अध्यक्ष नवीन पहाडीले तीन विद्यार्थी संगठनले बिहीबार ८ बुँदे माग राखी क्याम्पस प्रमुखको कार्यकक्षमा गरेको तालाबन्दी समस्याको सुनवाइ नै नगरी तोडेको विरोधमा कार्यकक्षमै ताला लगाएर थुनेको बताए । कान्तिपुर दैनिकबाट 

तपाईको प्रतिक्रिया