- अमर काफ्ले

इनरुवा। इनरुवा नगरपालिकामा गठित इनरुवा प्रज्ञा प्रतिष्ठान बिवादमा तानिएको छ । स्थानीय कला, साहित्य जस्ता क्षेत्रलाई समेट्ने उद्येश्यसाथ अघिल्लो वर्षको नगरसभाको निर्णय बमोजिम ११ सदस्यीय इनरुवा प्रज्ञा प्रतिष्ठान गठन गरिएको थियो ।

स्थानीय तहले प्राज्ञहरु सम्मिलित समिति गठन गर्दा सोही अनुरुपको नाम जुराउनु उपयुक्त हुन्छ । यद्यपी समिति भित्रकै प्राज्ञहरु समेत इनरुवा प्रज्ञा प्रतिष्ठान नाम राखिएको विषय चित्तबुझ्दो नभएको र जबरजस्ती निर्णय लादिएको बताउँछन् । नाम राख्ने सन्दर्भमा सुरुवाती अवस्थाबाटै खिचलो बनेको विषय बिहिवार प्रतिष्ठानले आयोजना गरेको सम्मान कार्यक्रमले थप बिवादित बन्न पुगेको छ ।

नगर समितिको निर्णयमा प्रज्ञा प्रतिष्ठान भनि किटान गरेको भएपनि कार्यक्रममा टाँगिएको ब्यानरमा आयोजक भनेर इनरुवा प्राज्ञ प्रतिष्ठानको नाम उल्लेख गरिएको छ । यद्यपी कार्यक्रममा सम्मान गरिएका साहित्यकारहरुका नाममा प्रदान गरिएको सम्मान पत्रमा स्पष्ट रुपमा इनरुवा प्रज्ञा प्रतिष्ठान भनिएको छ ।

त्यतिमात्र नभएर प्रतिष्ठानले गरेको सम्मान समेत बिवादित बन्न पुगेको छ । आयोजकले साहित्यकारहरु छविनाथ रिजाल, डमरुबल्लभ भण्डारी र जयकृष्ण यादवलाई सम्मान गरेको छ । रिजाल र भण्डारी दुबैजना इनरुवा प्रज्ञा प्रतिष्ठानमा आवद्ध समितिका पदाधिकारीहरु हुन् । भण्डारी प्रतिष्ठानका सदस्य सचिव हुन् भने रिजाल ११ सदस्यीय समिति भित्रका पाज्ञ हुन् ।

रिजाललाई साहित्य रत्न श्री पुरस्कार दिइएको छ भने स्वयं सदस्य सचिव समेत रहेका भण्डारीले काब्य रत्न श्री पुरस्कार हात पारेका छन् । जयकृष्ण यादवलाई संचारक्षेत्रमा रही साहित्य क्षेत्रमा योगदान पुर्याए वापत मेयर रत्न श्री पुरस्कारबाट सम्मानित गरिएको छ । तीनवटै पुरस्कारको रासी नगद ५० हजार १ सय रहेको छ ।

समिति भित्रैकै व्यक्तिले पुरस्कार लिएको प्रसङग एकाएक नगरभर चियो र चर्चाको विषय बन्न पुगेको छ । व्यक्तिगत स्वार्थ पुरा गर्न समितिका अन्य प्राज्ञहरुलाई दबाबमा राखी सदस्य सचिव भण्डारीले आफुखुशी निर्णय लादेको आरोप लागेको छ ।समिति भित्रैका केहीले असन्तुष्टि जनाउँदै राजिनामा दिएका छन् भने केहीले बाध्यतावश कार्यक्रममा देखापर्नु परेपनि आफ्नो साथ र समर्थन नरहेको भन्दै असन्तुष्टि पोखेका छन् ।

समिति भित्र दबदबा कायम गरेको र आफुखुशी निर्णय लादेको आरोप लगाइएका सदस्य सचिव भण्डारीले आफुमाथि लागेको आरोप निराधार रहेको प्रतिकृया दिएका छन् ।सम्मानित हुने सबै सम्मानका लागि योग्य भएको बताएका भण्डारीले प्रतिष्ठानद्धारा सम्मानित सबै सम्वन्धित विधाका उत्कृष्ठ र एकल प्रतिष्पर्धी भएको बताए ।

नगरको निर्णय बमोजिम कार्यक्रम गरिएको भण्डारीको भनाई छ । नगरप्रमुख पदेन कुलपति रहेको प्रतिष्ठानले नगर प्रमुख राजन मेहतासँगकै सरसल्लाहमा उपकुलपतिलाई दिइएको जिम्मेबारी अनुरुप कामकाजको प्रकृया अघि बढाइएको भण्डारीले बताए ।

भण्डारीले नामको विषयमा देखिएको विवादलाई समेत सामान्य तर अफवाह फैलाइएको भनि ब्याख्या गरेका छन् । नगरसभाको निर्णयमा झुकिएर प्राज्ञ प्रतिष्ठान भएको र अन्यको हकमा सच्याइएको बताएका भण्डारीले वास्तविकता भने इनरुवा प्रज्ञा प्रतिष्ठान नभएर इनरुवा प्राज्ञ प्रतिष्ठान भएको बताए ।

भण्डारीले प्राज्ञ प्रतिष्ठान रहेको र ब्यानरमा समेत सोही कुरा उल्लेख गरिएको बताएपनि सम्मान पत्रमा स्पष्ट रुपमा प्रज्ञा प्रतिष्ठान  देख्न सकिन्छ । स्रोतका अनुसार प्रतिष्ठानको खाता समेत प्रज्ञा प्रतिष्ठानकै नाममा खोलिएको छ ।

स्वयं आयोजकनै सम्मानित भएको प्रशंगको विषयमा प्रतिष्ठानका कुलपति समेत रहेका इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहतासँग बुझ्दा समितिबाट आएको निर्णय आफुले सदर गर्ने काम मात्र गरेको बताए । सबै हकअधिकार अध्यक्ष सो सरह रहने उपकुलपतिको हुने भएकाले सिङगो बडीबाट आएको निर्णय आफुले चाहेर पनि काट्न सक्ने अवस्था नरहेको मेहताले प्रतिकृया दिए । कार्यक्रममा कुलपतिको हैसियतले सम्मान गरिदिन बोलाइयो । सोही अनुरुप आफु उपस्थित भएको मेहताले बताए । अन्य विषयको हकमा आफु जानकार नभएको र सबै जिम्मेबारी उपकुलपति र सदस्य सचिवको हुने बताए ।

प्रतिष्ठानले निर्णय गर्दैगर्दा तत्कालिन अवस्थामा समाजसेवीका रुपमा पोष्टकुमार नेपाललाई समेत सम्मान गर्नेगरीको तयारी थालेको भएपनि नेपालले भने आफु सम्मानकालागि योग्य भैनसकेको बताउँदै सम्मान लिनबाट इन्कार गरेका थिए ।सदस्य सचिव भण्डारीका अनुसार प्रतिष्ठानद्धारा आयोजित सम्मान कार्यक्रमको कुल लागत ४ लाख ५० हजार रहेको छ ।

११ सदस्य प्रतिष्ठानमा क्रमशः राजन मेहता कुलपति, उपेन्द्र पागल उपकुलपति, डमरुबल्लभ भण्डारी सदस्य सचिव रहेका छन् भने पाज्ञहरुमा जिवनाथ पोखरेल, छबिनाथ रिजाल, पुरुषोत्तम घिमिरे, सागर तिम्सिना, विष्णुथापा मगर, अनिल पोखरेल, बिमला पोखरेल र शिवनारायण पण्डित रहेका छन् ।

तपाईको प्रतिक्रिया