इनरुवा ।काठमाण्डौंमा आफना नेता तथा कार्यकर्तामाथि भएको प्रहरी दमनको विरोधमा तरुण दल सुनसरीले जिल्ला प्रशासन कार्यालयमा धर्ना सहित ज्ञापन पत्र बुझाएको छ ।

शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी दमनको निन्दा गर्दै जिल्ला कार्य समिति सुनसरीले प्रशासन गेटअघि एक घण्टा धर्ना दिएको हो । तरुण दल सुनसरीका उपाध्यक्ष सन्तोष विकको नेतृत्वमा भेला भएका तरुण समूहले प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीलाई भेटी घटना भत्सर्ना सहितको ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार कुण्डित भएको र राज्य गैरजिम्मेवार रुपमा प्रस्तुत भएको उल्लेख गरिएको छ । ज्ञापनमा दोषी प्रहरी उपर कार्वाहीको माग गर्नुकासाथै आफ्ना केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत सहितको स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।

डा. केसीको जीवनरक्षाको माग गरेको तरुण दलले वर्तमान सरकार सर्वसत्तावाद लाद्न तर्फ उद्यत देखिएको आरोप लगाउँदै आफुहरुको माग सुनुवाई नभए जिल्लातहमा समेत आन्दोलन चर्काउने चेतावनी दिएको छ । तरुण दल सुनसरीको धर्नामा नेपाली कांग्रेस सुनसरीका पाटी सचिव केदार भण्डारी लगायतको उपस्थिती रहेको तरुण दल जिल्ला सचिव रमेश कटवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया