- अमर काफ्ले

नेपाल सरकारले मुलुकभरका जिल्ला अस्पतालमा रहेका व्यवस्थापन समिति खारेज गरिसकेको छ । सरकारको खारेजीसँगै अस्पताल व्यवस्थापन समितिको औचित्य समेत सकिएको छ । सधैंजसो राजनैतिक पहुँचका आधारमा व्यवस्थापन समितिमा पदपूर्तिको भागवण्डा हुँदै आएको थियो ।

इनरुवा अस्पतालमा समेत पछिल्लो डेढ वर्षे अध्यक्षको कार्यकाल चलाएका रमेश कटुवालसँगैका पदाधिकारीहरुको कार्यभार समेत समिति खारेजीको निर्णयसँगै स्वतः चट भएको छ ।यसअघि व्यवस्थापन समितिका अध्यक्षहरुले आफ्नो कार्यकाल सकिंदै गर्दा आफ्नो कार्यकालको समिक्षा गरेनन् । यद्यपी कटुवालले भने पत्रकार सम्मेलन गरी पछिल्लो आफ्नो डेढ वर्षे कार्यकालको दौरानका गतिविधी सार्वजनिक गरेका छन् ।

इनरुवा अस्पतालमा पत्रकार सम्मेलन गरेका कटुवालले जाँदाजाँदै भने “अस्पताल डामाडोल नहोस” । अस्पताल सुधारमा निकै आयामहरु थप्नुकासाथै आधार स्तम्भ तय गरेको बताउँदै कटुवालले जरजर अवस्थाबाट अस्पताललाई निकै हद सम्म माथि उठाएकाले आफ्नो अनुपस्थितीमा अस्पताल पुरानो अवस्थामा फर्किएको हेर्न नचाहने बताए ।

स्तरउन्नतीको पहलदेखि सेवासुविधा विस्तार र चिकित्सकिय सेवा प्रदान सहितको सहज र सुलभ स्वास्थ्योपचार सेवामा आफुले विशेष ध्यान दिएको बताउँदै कटवालले समृद्ध र समुन्नत अस्पताल बनाउन सबैको साथ सहयोग जारी रहनेमा विश्वस्त रहेको बताए ।

अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी लगायतको उपस्थितीकाबिच प्रेश पत्र सार्वजनिक गरेका कटुवालले सो पत्रमा आफ्नो कार्यकालमा भएका काम कार्वाहीका विषयमा उल्लेख गरेका छन् ।

डिजिटल एक्सरे सहितको सेवा अवधी थप गरिएको विषय, अस्पताल स्तरउन्नतीसँगै विशेषज्ञ चिकित्सक सहितको दरवन्दी, नाक,कान,घाँटी सम्वन्धि विशेषज्ञ सेवा, इमरजेन्सी सुधार तथा जनशक्ति व्यवस्थापन, सहज स्वास्थ्योपचार सहितको सर्वसुलभ औषधीकालागि फार्मेसी सञ्चालन, स्वास्थ्य बिमा, आधुनिक ल्याब सहितको सेवा अवधी विस्तार, सि.ओ.एम.सी. अपरेशन सेवाको अन्तिम तयारी, दक्ष सर्जन सहितको डेन्टल सेवा, बिग्रेको अल्ट्रा साउण्ड विस्थापन गरी नयाँ आधुनिक मेसिन खरिद पश्चात सञ्चालन , फेमली मेडिसिन, बाल रोग विशेषज्ञ सेवा जस्ता महत्वपूर्ण कार्य आफ्नो कार्यकालमा भएको उल्लेख गरेका कटुवालले आफ्नो कार्यकालमा इनरुवा अस्पताललाई भनिने गरिएको रेफर अस्पतालको ट्याग हटाउन सफल भएको जनाएका छन् ।

कटुवालले कार्यकाल अपुरो अवस्थामै सकिएकाले सोचे अनुरुपका केही काम पुरा गर्न नसकेको बताउँदै गरेका काम सबैको साथ र सहयोगमा सफलतापूर्वक सम्पन्न भएको दावी गरेकाछन् । यद्यपी स्थानीय जानकार तथा सर्वसाधारणले भने अस्पताल व्यवस्थापन समिति इनरुवाको अध्यक्ष हुँदा कटुवालमाथि तत्काल ठोस निर्णय गर्न नसक्ने, काममा ढिलासुस्ती , आफु निकटका कर्मचारीलाई प्रश्रय दिएको र अस्पतालको आन्तरिक किचलोलाई पर्दाफास गर्न नसकी राजनैतिकरणको भूमरीमा जेलिएको जस्ता आरोप लगाउने गरेका छन् । आफुमाथि लागेका आरोपलाई भने कटुवालले सुरुवाती अवस्थादेखिनै अस्विकार गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया