- अमर काफ्ले


सुनसरी। सुनसरीको हरिनगर गाउँपालिका वडा नम्वर ७ घुस्कीमा स्थानीय र सशस्त्र प्रहरीबिच दोहोरो झडप हुँदा एकजनालाई गोली लागेको छ ।सशस्त्रले चलाएको गोली लागि कैयुम मिया घाइते भएका छन् । हातमा गोलि लागेको भनिएका मियालाई उपचारकालागि धरान पठाइएको बताइएको छ ।

झडपमा एक दर्जनबढी स्थानीय घाइते भएको स्थानीय दाउद अन्सारीले बताए । सशस्त्र सीमा सुरक्षा बल घुस्कीले अवस्था नियन्त्रण बाहिर गएपछि आत्मरक्षाकालागि हवाई फायर गर्नु परेको बताएको छ । आक्रोसित भिडले राइफल खोसेपछि प्रतिरक्षाकालागि फायर गरिएको शसस्त्रको भनाई छ । झडपका क्रममा आफ्नो तर्फ समेत केही घाइते भएको सशस्त्रले जनाएको छ ।

सशस्त्रले आफ्ना जवान नेत बस्नेत झडपका क्रममा वेपत्ता भएको जनाएको छ । अवस्था नियन्त्रण बाहिर जाने देखिएपछि जिल्लाबाट ठुलो संख्यामा सुरक्षाकर्मी घटनास्थल पठाइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले अवस्था बिग्रन नदिन बाक्लो सुरक्षा बन्दोवस्ती मिलाइएको बताए । सामान्य विवाद पश्चात तनाव बढेपछि सशस्त्रले केही राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार भएको प्रजिअ उप्रेतीले पुष्टि गरेका छन् ।

घटनास्थलमा हरिनगर गाउँपालिका प्रमुख गफार अन्सारी सहित सुरक्षा निकायका प्रमुखहरु पुगेर अवस्था साम्य पार्ने प्रयास भैरहेको छ । प्रहरीले दुवै पक्षलाई बोलाएर वार्ताको प्रयास भैरहेको जनाएको छ । सशस्त्र चौकी आसपास बाक्लो सुरक्षा तैनाथी रहेपछि गाउँलेहरुले घुस्की बजार क्षेत्रमा टायर बालेर प्रर्दशन चर्काइरहेको स्थानीय संचारकर्मी जयकृष्ण यादवले जानकारी दिएका छन् ।

घुस्कीमा स्थानीयसँगको विवाद तथा हातपातले उग्र रुप लिएपछि दोहोरो झडप हुन पुगेको हो । सशस्त्र प्रहरीले स्थानीय महिलामाथि निर्घात कुटपिट गरेपछि आक्रोशित बनेका गाउँलेहरु सशस्त्र प्रहरी पोष्ट घेराउ गर्दै प्रतिकारमा उत्रिएपछि दोहोरो झडप हुन पुगेको हो ।
शसस्त्रले स्थानीय महिला मेहनाज खातुनमाथि कुटपिट गरेको विषयले उग्र रुप लिएपछि गाउँमा तनाव उतपन्न हुन पुगेको स्थानीय प्रत्यक्षदर्शीहरुको भनाई छ ।

सशस्त्र प्रहरीले भारततर्फबाट नेपाल तर्फ ल्याउदै गरेको खसी रोकेर सोधपुछ गर्ने क्रममा विवाद बढेपछि तनावको अवस्था सीर्जना भएको जनाएको छ । पीडित पक्षले भने खेतमा चराउन लगिएका खसी बाख्रा लिएर आउने क्रममा सशस्त्रले आफुहरुमाथि धावा बोलेको बताएका छन् ।स्थानीयले गोली लागि घाइते भएको दावी गरेपनि सशस्त्रले भने कसैलाई गोलि नलागेको जनाएको छ ।

तपाईको प्रतिक्रिया