इनरुवा। मानव स्वास्थ्यमा गम्भिर असर पु¥याएको भन्दै स्थानीयहरुले इनरुवा ६ मा संचालनमा रहेको क्रसर उद्योग हटाउन माग गरेका छन् ।करिव २ महिना अघिनै स्थानीयले स्वच्छन्द निर्माण सेवा विरुद्ध जिल्ला प्रशासन र इनरुवा नगरपालिकामा उजुरी दर्ता गराएका थिए ।

हाल सम्मपनि माग सम्बोधन नभएको भन्दै उनिहरुले पूनः आज ध्यानाकर्षण सहितको ज्ञापन पत्र इनरुवा नगरपालिकाको कार्यालयमा बुझाएका हुन् । स्थानीय तवरबाट चालिएको प्रयासले समस्याको समाधान नभएपछि स्थानीयहरु संस्थागत मार्फत क्रसर विरुद्ध धावा बोल्ने तयारीमा जुटेका छन् ।

सोही अनुरुप क्रसर पीडितहरुको मुद्धा उठान गरी संस्थागत रुपमा अघि बढीएको संस्थाका सचिव झलकराज खड्काले बताउनुभयो ।पहिलो चरणमा ध्यानाकर्षण सहित इनरुवा नगरपालिका मार्फत प्रधानमंत्रीको कार्यालय सम्म ज्ञापन पत्र पठाएका स्थानीयहरुले अबपनि माग सम्बोधन नभएर क्रसर उद्योगमा तालाबन्दी जस्ता दबाबमूलक कार्यहरु संचालन गरिने बताएका छन् ।

ज्ञापन बुझ्दै नगर प्रमुख राजन मेहताले वास्तविकता छानविन गरी आवश्यक कार्वाहीको प्रकृया अघि बढाउने बताउनुभएको छ । केही समयकालागि भनेर भोटेपुल नजिक संचालनमा रहेको क्रसर करिव ३ वर्षयता संचालनमा रहेको छ । क्रसरबाट निस्कने धुलो, धुँवा र अलकत्ताको दुर्गन्धले छेउमै रहेको मानव वस्ती प्रभावित बनेको र मानव स्वास्थ्यमा गम्भिर असर पुगेको ठहर गर्दै वडा कार्यालयले समेत क्रसर बन्द गर्न त्यसताकानै पत्र काटेको थियो ।

प्रशासनमा स्थानीयले उजुरी दिएपनि स्वयं प्रजिअलेनै उद्योग हटाउन नसकिने बताएपछि निरन्तर रुपमा क्रसर संचालन हुँदै आएको छ ।स्थानीयको विरोध पछि भएको सर्वपक्षिय बैठकमा स्वच्छन्द निर्माण सेवाका संचालक सन्तकुमार मेहताले केहीदिनभित्रै क्रसर अन्यत्र सार्ने प्रतिवद्धता जनाएपनि हालसम्म पनि सोही स्थानमा संचालित छ ।

तपाईको प्रतिक्रिया