- अमर काफ्ले


इनरुवा /इतिहास मेटाउन खोजिएको भन्दै सुनसरीको इनरुवा नगरपालिका साविक ७ नम्वर वडावासी आन्दोलित बनेका छन् । हालको इनरुवा २ नम्वर वडामा पर्ने कुसुमगाछीका वासिन्दा टोलको पहिचान मेट्ने प्रयत्न भएको प्रति रुष्ट बनेका हुन् । तत्कालिन अवस्थामा १९८८ ताका झोडा फडानी गरी इनरुवामा मानव वस्तीको विकास भएको थियो ।

जंगल फडानीको समयमा सो क्षेत्रमा सखुवा र कुसुम लगायत प्रजातिका प्रशस्त बोट विरुवा रहेकोमा अन्य बोटबिरुवा मासिएपनि कुसुमको बोट भने जोगाइएको थियो । तत्कालिन अवस्था कार्की टोल भनिने गरिएपनि पछिभने कुसुम गाछीको नामबाट टोलको नामाकरण गरिएको स्थानीय बुढापाकाहरु बताउँछन् ।


करिब ९० बर्ष बढी पुरानो रुखलाई यतिवेला सडक बिस्तारका नाममा कटान गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका हुन् । निर्माण कम्पनीले रुख काट्न गरेको पटक पटकको प्रयासलाई विफल तुल्याउँदै आएका स्थानीयहरु यस पटक भने रुख काट्न बढी जोड गर्ने काम भएको भन्दै सांगठनिक रुपमा एकभई आन्दोलित बन्न पुगेका छन् ।


रुख काट्न नदिने र कसैगरी रुख काटी छाड्ने पक्ष र विपक्षबिचको विवाद समेत चर्कन थालेपछि कुसुमगाछीको मुद्धा चर्कन पुगेको छ ।
स्थानीय सागर दाहाल कुनैपनि हालतमा जिउँदो इतिहासका रुपमा रहेको सम्पदा मेट्न नदिने बताउँछन् ।

सडक विस्तार गरिनु सबैको हितमा भएपनि ज्वलन्त इतिहासका रुपमा रहेको प्राकृतिक सम्पदालाई जोगाउनु समेत सबै टोलवासीको दायित्व रहेको दाहालको भनाई छ ।सडकको बिचभागमा पर्ने कुसुमको रुखलाई जोगाएर निर्माण कार्य गर्दा सबै टोलबासीको भावना र ऐतिहासिक सम्पदाको समेत जर्गेना हुने स्थानीयहरुको भनाई छ ।

मगर टोलका सुजित राना मगरले प्राकृतिक सम्पदाका रुपमा रहेको कुसुम गाछीलाई कुनैपनि हालतमा सो क्षेत्रबाट काट्न नदिन भन्दै जबरजस्ती गर्न खोजिए प्रतिकारमा उत्रने बताउँछन् । भएका सम्पदा मास्नु भन्दा संरक्षण गरिनु उपयुक्त हुने ठहर गरी आन्दोलित बनेका स्थानीयहरुले बुढापाकाहरुको साथमा संघर्ष समिति गठन गर्ने तयारी समेतको प्रकृया अघि बढाएका छन् ।

इनरुवा बबिया सडक विस्तारको तत्कालिन समयमा इनरुवा ३ सखुवागाछीमा रहेको सखुवाको रुख ढालिएको थियो । अहिले सो स्थानमा फाइबरको सखुवाको आकृति भएको स्तम्भ राखिएको छ ।जिउँदो पहिचान गुमाएर आकृति खडा गर्नु भन्दा भएको सम्पदा र इतिहासको उचित संरक्षण गर्नु उपयुक्त हुने कुसुमगाछी बासीमा भनाई छ ।

तपाईको प्रतिक्रिया