पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ साविकको चिलिङदिन गाविसलाई केही वर्षअघिसम्म विपन्न गाविसको रुपमा चिनिन्थ्यो तर अहिले त्यही गाविसका बासिन्दा सम्पन्न तथा भाग्यमानी भएका छन् । ‘७/८ वर्षअघि यो गाउँमा मकै, कोदो, धान खेती हुन्थ्यो । बजारमा बिक्री गर्ने कुनै वस्तु थिएन, स्थानीयबासीको आयस्रोतको बाटो थिएन । तर अहिले त्यही वडाका स्थानीय व्यावसायिक रुपमा अकबरे खोर्सानी बिक्रीबाट राम्रो फाइदा लिइरहेका छन्’ –सोही वडाका वडा सदस्य कवीन्द्रप्रसाद लावती भन्छन् ।

केही वर्ष अघिदेखि शुरु गरिएको अकबरे खुर्सानी खेतीले अहिले व्यावसायिकता पाएको छ । ‘सबै परिवारले अकबरे खुर्सानी खेती गरेका छन् । नहुनेले पनि १/२ रोपनीमा अकबरे लगाएका छन्’ –स्थानीय कृषक भीमकुमार नेम्वाङ भन्नुहुन्छ । अकबरे खुर्सानी खेती नगर्दासम्म आफ्नो अवस्था निकै नाजुक भएको र अहिले २/३ रोपनी जमिनमा अकबरेको खेती गरेको स्थानीय कृषक रेवतकुमार नेम्वाङले बताउनुभयो । उहांंले भन्नुभयो– ‘अहिले एक सिजनमा २ लाख बढी हुन्छ, केही गर्न नसके पनि अहिले छोरालाई काठमाडौंको निजी क्याम्पसमा पढाउँदै छु ।

रेवतले जस्तै रत्न नेम्वाङले पनि अकबरे खुर्सानीकै कमाइबाट आफ्ना छोराछोरीलाई बिर्तामोडमा पढाइरहनु भएको छ । अकबरेको कमाइले सम्पत्ति जोड्ने थुप्रै छन् । थोरै कमाउनेले पनि एक सिजनमा १ लाखदेखि ४ लाखसम्म कमाउने गरेका छन् । अकबरेको कमाइले छोराछोरीलाई उच्च शिक्षा पढाउने तथा राम्रो घर बनाउने गाउँमा थुप्रै भएको वडा अध्यक्ष लावतीले बताउनुभयो ।

गाउँमा अकबरे खुर्सानीको उत्पादन बढ्दै गएपछि सबै कृषकलाई सहकारीमा संगठित गरी व्यावसायिक रुपमा उत्पादन गरेको सिरीजंगा साना किसान सहकारी संस्थाका अध्यक्ष तारावीर नेम्वाङले बताउनुभयो । ‘अकबरेको उत्पादन शुरु भएपछि जिल्लाको एक गाउँ एक उत्पादन कार्यक्रममा चिलिङदिनको अकबरे परेको छ यसले कृषकको आयस्रोत मात्र होइन पाँचथर जिल्लाको नेतृत्व नै गरेको छ’ –अध्यक्ष नेम्वाङको दाबी छ । जिल्लाकै एक गाउँ एक उत्पादनमा पाँचथरमा अकबरे परेपछि यस खेतीलाई व्यावसायीक बनाउन सेवा केन्द्रमार्फत प्राविधिक सहयोग र आवश्यक सल्लाह सुझाव दिइरहेको जिल्ला कृषि विकास कार्यालय पाँचथरका प्रमुख कमलेशकुमार तिवारीले बताउनुभयो ।

उत्पादन बढेसँगै स्थानीय बजारले थेग्न नसकेपछि इटहरीको एक उद्योगले वार्षिक २० देखि ३० टनसम्म अकबरे खोर्सानी किन्ने गरेको छ । यसपटक पनि सम्झौता हुन लागेको अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो । बजारमा २ सयदेखि ३ सयसम्ममा पाइने अकबरे चिलिङदिन र आसपासमा गरी एक सिजनमा ५० टनभन्दा बढी उत्पादन हुने गरेको छ ।

यहाँ उत्पादन हुने अकबरे राकेभञ्ज्याङ, झापा पाँचथरको रवि बजारसम्म पुग्ने गरेको कृषक गोवा चेम्जोङको भनाइ छ । चिलिङदिनमा उत्पादन भएको अकबरे खुर्सानी बढी बिक्री हुने राँके बजार अहिले अकबरेको बजारको रुपमा चिनिएको छ । जिल्लाको एक गाउँ एक उत्पादन बस्तु अकबरे भएको हुनाले पनि पाँचथरको कोसेली नै अहिले अकबरे खोर्सानी भएको विक्रेता विष्णुकुमारी तामाङले बताउनुभयो ।

अकबरे खुर्सानी खेतीले अहिले व्यापकता पाउँदै गइरहेको छ । ‘वार्षिक ५० टन उत्पादन हुन्छ सामान्य २ सय ४० रुपियाँमा बिक्री हुँदा पनि एक सिजनमा १२ करोडको अकबरे बिक्री हुन्छ यसले यो रकमले गाउँका लागि ठूलै रकम हो’ –लावती भन्छन् । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia