इनरुवा/सुनसरीको बर्जु गाउँपालिका र बराहक्षेत्र नगरपालिकामा किशोरी कक्षा सञ्चालन हुने भएको छ ।
आवश्यकता र प्राथमिकताका आधारमा बर्जु र बराहक्षेत्रमा किशोरी केन्द्र मार्फत किशोरी शिक्षा कार्यक्रम संचालनमा ल्याइन लागिएको हो । जसकालागि बर्जु र बराहक्षेत्रमा दश वटाका दरले २० वटा केन्द्र संचालन गर्न लागिएको छ ।


केन्द्रले किशोरी शिक्षाका माध्यमबाट उनिहरुको सुनौलो भविष्यको आधार तय गराउने प्रयास गर्ने छ ।
किशोरी शिक्षा सञ्चालनकालागि सम्वन्धित भेगका सहजकर्ताका साथै सुपरभाइजरहरुलाई प्रशिक्षण समेत दिइएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहकार्यमा साझा सवालकालागि साझा मञ्च कोकनले बिराटनगरमा ५ दिने प्रशिक्षण पश्चात सहजकर्ता सहितका सरोकारवालालाई किशोरी शिक्षा सञ्चालनका लागि आवश्यक स्रोत साधन उपलब्ध गराएको छ ।


कोकनका कार्यक्रम संयोजक हेमन्तराज पौडेलका अनुसार सुनौलो जिवन पहिचानकालागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाले केन्द्र मार्फत सञ्चालित हुने किशोरी शिक्षा कार्यक्रमले समाजमा सकारात्मक सोचको सञ्चार गर्ने छ ।
किशोरीहरुको हक अधिकार, सुनौलो भविष्य निर्माण, प्रजनन स्वास्थ्य तथा बालविवाह न्यूनिकरण र महिलाका पक्षमा भएका नियम कानुन बारेको जानकारी प्रदान गर्नु किशोरी शिक्षा कार्यक्रमको मूलभुत उद्देश्य रहेको कोकनकी पूर्वाञ्चल संयोजक मञ्जिता उपाध्यायले बताउनुभयो ।

तपाईको प्रतिक्रिया