भदौ १९, इनरुवा। इनरुवा नगरपालिकाका पूर्व मेयर र वडाअध्यक्ष सहित ६ जना विरुद्ध प्रशासनमा उजुरी परेको छ । उनीहरुमाथि स्थानीय एक दम्पतीमाथि कुटपिट गरेको आरोप लागेको छ । निवेदक इनरुवा ५ बलाहाका रामहरी पोखरेल र शान्ता पोखरेलले निर्वाचित वडाअध्यक्ष अञ्जनी पोखरेल सहित पुर्व मेयर खेमराज पोखरेल, पुकार भनिने युवराज पोखरेल, सबिस पोखरेल, पशुपती दाहाल र भगवान दाहाल विरुद्ध प्रशासनमा उजुरी गरेका हुन् ।

आफुहरुमाथि गालीबेइजती तथा कुटपिट गरिएको भन्दै प्र्रशासनमा दर्ता गरिएको उजुरीमा शान्ति सुरक्षाको माग सहित दोषीलाई पक्राउ गरी कार्वाहीको माग गरिएको छ । घटना भदौ १६ गते रातीको भएपनि चोट र मानशिक तनावका कारण ढिला उजुरी गरिएको निवेदकद्धयले संयुक्त हस्ताक्षर गरी प्रशासनमा दर्ता गरेको उजुरीमा उल्लेख छ ।

शान्ति सुरक्षा कायम गरी जिउ ज्यानको समेत सुरक्षाको माग गरेका निवेदकको उजुरी सुनसरी प्रशासनको दर्ता किताबको १ सय ६० नम्बरमा दर्ता भएको छ । दर्तासँगै प्रशासनले निवेदन उपर आवश्यक कार्वाहीकालागि सुनसरी प्रहरीमा पठाउन तोक आदेश गरेकोे छ ।
उजुरीमा किटान गरिएका व्यक्तिहरुले रातीको समयमा एक्कासी घर भित्र प्रवेश गरि कुटपिट गर्दै बाहिर मुल सडकमा ल्याएर अपशब्द प्रयोग गरि थप कुटपिट गरेको उल्लेख छ । सामूहिक रुपमा श्रीमान श्रीमतीलाई कुटपिट गर्न थालेपछि छरछिमेकीलाई हार गुहार गरि कराउन थालेपछि वडाअध्यक्ष अञ्जनी पोखरेल लगायतको समूह भागेको उजुरीमा जनाइएको छ ।

उता कुटपिट गरेको आरोप लागेका पुर्व मेयर खेमराज पोखरेल र वडाध्यक्ष अञ्जनी पोखरेलले आरोप निराधार र झुटो भएको प्रतिकृया दिनु भएको छ ।खेमराज पोखरेलले सम्वन्धित व्यक्तिको घरमा वडाध्यक्ष सहितका केही छरछिमेकी र आफन्त काम विशेषले सम्झाउन गएकोमा आफुपछिबाट पुगेको र आरोप लगाए बमोजिमको सत्यता नभई आफुहरुको चरित्र हत्या गर्ने प्रयास गरिएको प्रतिकृया दिनुभएको छ ।
मादक पदार्थ सेवन गरी रामहरीले महिलामाथि गरेको अपमानपूर्ण व्यवहारका विषयमा घरमा गई सोधपुछका क्रममा सामान्य विवाद हुँदा रिसिवी साँधेर आफुहरुमाथि लाञ्छना लगाइएको पोखरेको भनाई छ ।

तपाईको प्रतिक्रिया