इनरुवा /पूर्व उपप्रधान मंत्री बिजयकुमार गच्छदारले थारु जातिलाई सरकारले स्वार्थ सिद्धीका रुपमा मात्र हेरेको आरोप लगाउनु भएको छ ।
मुलुकको कालखण्डमा थारु जातिको उपस्थिती र योगदान महत्वपूर्ण रहेको भएपनि सरकारी उदाशिनताका कारण थारु जाती उपेक्षित अवस्थामा रहेको गच्छदारको भनाई छ । नेपाली कांग्रेसका केन्द्रीय नेता समेत रहनु भएका गच्छदारले सुनसरीको इनरुवामा सुरु थारु कल्याणकारिणी सभा सुनसरीको आठौं अधिवेशन उद्घाटन पश्चात सम्बोधनका क्रममा त्यस्तो धारणा राख्नु भएको हो ।

गच्छदारले थारु जातिको साथ र समर्थनलाई सरकारले स्वार्थ सिद्धिका रुपमा मात्रै प्रयोग गर्दै आएको बताउनु भयो । अधिकार प्राप्तकालागि स्वयं जागरुक हुन आवश्यक रहेको बताउँदै गच्छदारले बिगतका भोगाईबाट पाठ सिकेर अघि बढ्न आवश्य रहेको धारणा राख्नु भएको छ ।
मुलुक भित्र भएका विभिन्न आन्दोलनमा थारु जातिको भूमिका महत्वपूर्ण रहेपनि पहिचान र अधिकार प्राप्तीका सवालमा विभेद कायमै रहेको गच्छदारको भनाई थियो ।


थारुहरु नेपालमा मानवजातिको बसोबासताका देखिनै नेपालमा बसोबास गर्दै आएकाले धरती पुत्र भएको गच्छदारको भनाई थियो ।
इनरुवाको बलाहामा आजबाट थारु कल्याणकारिणी सभा सुनसरीको सुरु आठौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि सम्पन्न हुनेछ ।
बलाहाको शारदा उच्च माबिमा आयोजित अधिवेशनको उद्घाटन सत्रमा थारु कला, संस्कृति र पहिचान झल्कने र्याली, झाँकी तथा नृत्य जस्ता कार्यक्रम आयोजना गरिएको थियो । अधिवेशनले सकेसम्म सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष पुनितलाल चौधरीले जानकारी दिनुभयो ।कार्यक्रममा प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला, सांसद सीताराम मेहता, इनरुवा नगरपालिकाका मेयर राजन मेहता सहित थारु नेता, अगुवा लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया