बिराटनगर, २६ भदौ । विराटनगर भन्सारलाई आफ्नो मुख्य कमाउने स्थलोका रुपमा प्रयोग गर्दै आएका विराटनगर भन्सारका भन्सार एजेन्ट र स्थानीय व्यावसायिकबीचमा हुने अवैध लेनदेनबाट एकातिर सरकारले ठूलो रकम राजस्व गुमाइरहेको छ भने अर्कोतिर करोडौं मूल्यका सामानहरु कौडीको भाउमा भन्सार जाँचपास हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ ।

विराटनगर भन्सारले पटक–पटक कारबाही गर्दै आएर पनि सुध्रिन नसकेका विराटनगर भन्सारका भन्सार एजेन्ट विनोद पोद्दार अहिले पुनः एक पटक चर्चाको शिखरमा पुगेका छन् । विराटनगर भन्सारलाई मुख्य आम्दानीको स्रोत बनाएका पोद्दार क्लियङि एजेन्सीका भन्सार एजेन्ट विनोद पोद्दारले पछिल्लो समयदेखि सहोदर छोरो सुनिल पोद्दारलाई पनि पोद्दार क्लियरिङको भन्सार प्रतिनिधि घोषणा गरेर करोडौं मूल्यको राजस्व चोरी गर्न सफल बन्दै गएको कुरा विराटनगर भन्सारकै भन्सार एजेन्टहरुले बताएका छन् ।

भन्सार एजेन्ट पोद्दारले विराटनगर भन्सारबाट विशेषगरी अस्पतालहरुले प्रयोग गर्ने सर्जिकल सामग्रीदेखि कीटनाशक औषधि भारतबाट आयात गर्दा कौडीको मूल्यमा भन्सार जाँचपास गरेर व्यापारीहरुसँग मिली लाखौं कमिसन खाने गरेको रहस्य भन्सारका भन्सार एजेन्ट नै बताउँछन् । स्रोतका अनुसार विराटनगर भन्सारबाट जाँचपास भएको एक ट्रक गत १९ गते मगलबार मध्यरातमा प्रहरी कार्यालय रानीको गस्ती टोलीले मलायारोडमा रहेको आँखा अस्पताल छेउमा पक्राउ गर्न सफल भएको छ ।

भारती युपी १७ सी १२९७ नम्बरको उक्त ट्रक भन्सार एजेन्ट विनोद पोद्दार र उनका प्रतिनिधि सुनिल पोद्दारले जाँचपास गरेको प्रज्ञापन पत्रका साथ गाडी चालकसमेत पक्राउ गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय सुनसरीको इटहरीमा बुझाएको कुरा रानी प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिएका छन् ।

उक्त ट्रकमा अस्पतालहरुले प्रयोग गर्ने सर्जिकलका सामान र केही हार्डवेयरका सामानहरु रहेको कुरा प्रहरीले बताएको छ । उक्त ट्रकमा रहेको सामान र भन्सारबाट जारी प्रज्ञानपन पत्रमा भन्सार राजस्व ६० लाख मात्र उल्लेख गरेको देखिएपछि चतुर खेलाडीका रुपमा परिचित भन्सार एजेन्ट विनोद पोद्दारले जाँचपास गराएको सामान राजस्व अनुसन्धान कार्यालयमा पुनः जाँचपासका लागि पु-याएको कुरा प्रहरीले जनाएको छ । भन्सार एजेन्ट पोद्दारलाई कारबाही हुनैपर्ने आवाज आउन थालेको छ ।

राजस्व अनुसन्धान कार्यालय सुनसरीले पनि आवश्यक प्रक्रियाअनुसार नै कारबाहीको दायरामा ल्याउने कुरा बताएको छ । भन्सार एजेन्ट पोद्दारको पोद्दार क्लियरिङ एजेन्सीको काम एक्लै सम्हाल्न हम्मेहम्मे भएपछि पछिल्लो समय सहोदर छोरो सुनिल पोद्दार पनि बाबुको कामलाई सघाउन भन्सार प्रतिनिधिका रुपमा विराटनगर भन्सारमै काम गर्न थालेका छन् । उनी पनि बाबुकै लाइनमा गएर विराटनगर भन्सारमा काम गर्दै आएको कुरा भन्सार एजेन्टले जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)

तपाईको प्रतिक्रिया