काठमाडौं, ६ असोज । ६ सय वर्गकिलोमिटरभन्दा बढी नेपाली भूभाग भारतले अतिक्रमण गरेको भेटिएको छ । दार्चुलादेखि ताप्लेजुङसम्म सिमा जोडिएका ७१ स्थानमा भारतले अतिक्रमण गरी नेपाली भूभाग कब्जा गरेको हो। नेपालका २७ जिल्लाको सिमाना भारतसँग जोडिएको छ ।

नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले ७१ स्थानको ६ सय ६ वर्गकिलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरेको बताए। खुला सीमाका कारण भारतले नेपाली भूभाग अतिक्रमण गरेको उनको दाबी छ ।

उनका अनुसार सबैभन्दा बढी लिम्पियाधुरा–कालापानीमा ३७ हजार हेक्टर जग्गा भारतले कब्जा गरेको छ। भारतले सन् १८५६ देखि लिम्पियाधुरा कब्जा गरेको हो। लिम्पियाधुरा नेपालका सरकारी नक्सामा समावेश गरिएको छैन ।

२०३२ सालसम्मका नेपालका नक्साले पनि लिम्पियाधुरा नेपालकै भूभाग रहेका देखाउँछन्। नापी विभागले २०३६ मा गरेको नापीपछि तयार पारेको नक्सामा लिम्पियाधुरा क्षेत्रको ३ सय १० वर्गकिलोमिटर क्षेत्र हटाएर कालापानी, लिपुलेकसम्म मात्र राखिएको सीमाविद् श्रेष्ठ बताउँछन् ।

कालापानी/लिपुलेकको ६२ वर्गकिलोमिटर भूभाग भारतले सेना राखेर कब्जा गरेको छ। भारतमा बनाइने नेपालको नक्सामा कालापानी र लिपुलेक नेपालमा छैनन् ।

नेपालको नक्सामा नदेखाइएको लिम्पियाधुरा/कालापानी क्षेत्रमा नै ३ सय ७२ वर्गकिलोमिटर जग्गा भारतले कब्जा गरेको छ । कालापानी/लिम्पियाधुरापछि सबैभन्दा बढी सुस्ता क्षेत्रमा भारतले नेपाली भूभाग कब्जा गरेको छ। नवलपुरको सुस्तामा १४ हजार ५ हेक्टर जग्गा अतिक्रमित छ ।

कञ्चनपुरमा नै ९ स्थानमा भारतले नेपाली भूभाग अतिक्रमण गरेको छ। झापामा ८, सप्तरीमा ७, पर्सामा ५, ताप्लेजुङ र बर्दियामा ४/४, इलाम, मोरङ, सुनसरी र कैलाली ३/३, पाँचथर, चितवन, रूपन्देही, बाँके, सिरहा, महोत्तरी, सर्लाही, बारामा २/२ स्थानमा भारतले नेपाली भूभाग अतिक्रमण गरेको छ।दार्चुला, दाङ, कपिलवस्तु, नवलपरासी र रौतहटमा १/१ स्थानमा नेपाली जमिन अतिक्रमित छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia