- दिलिप कुमार साह

राजविराज । गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजमा स्थानीयहरुद्वारा तोडफोड गरिएको छ । उपचारका लागि आएका एक जना बच्चालाई ज्यूँदै अवस्थामा पोष्टमार्टम कक्षमा राखिएको दावी उनीहरुले गरेका थिए। ज्यूँदो भनिएका बालकलाई यहाँबाट उपचारका लागि सिरहास्थित सर्पदशं उपचार केन्द्रमा लगिएपनि त्यहाँ समेत मृत घोषणा गरिएको छ ।

सप्तरीको रुपनी गाउँपालिका ६ निवासी अशोक साहका डेढ बर्षीय छोरा आरभ साह सर्पदंशको घट्नामा परेपछि शुक्रबार राति उपचारका लागि अस्पतालमा ल्याइएको थियो । तर अस्पतालले मृत घोषणा गरी पोष्टमार्टमा राखेको थियो । अस्पतालका मेसु डा. चुमनलाल दासले पारामेडिक र सर्जन चिकित्सकले समेत जाँच गरेपछि बच्चाको मृत्यु भइसकेको थियो । यसपछि बालकका अभिभावकले नै पोष्टमार्टमका लागि प्रहरीमा जाहेरी दिएपछि पोष्टमार्टम कक्षमा लगिएको बताए ।

शनिबार बिहान गाउँले महिलाहरु आई बच्चालाई हेर्न जाँदा आँखा खुलेको र थुक निस्किरहेको दावी गर्दै अस्पतालमा प्रदर्शन गरिनुका साथै तोड्फोड गरिएको छ । उनीहरुको प्रदर्शनका कारण शनिबार दिउँसोदेखि अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो ।

तपाईको प्रतिक्रिया