काठमाडौं, ९ असोज । गोठाले जीवन बन्धनरहित थियो । वस्तुभाउ जंगलतिर पठाइदिएपछि आरामले चर्न थाल्थे । साथीभाइ गुच्चा प्रतियोगितामा रमाउँथ्यौँ । खेलमा झेल हुन्थ्यो । झेल हुँदा विष्णु खत्री कुरा मिलाउन अघि सर्थे । विपक्षमा हुँदा पनि उनी मेरो बचाउ गर्थे । १० कक्षासम्म यसैगरी बित्यो । एसएलसी पास गरेपछि म घोराही गएँ । विष्णु लमही । भेटघाट पातलो भयो । चाडपर्वमा घर जाँदा मात्र भेट हुन्थ्यो । भेटिँदाको उल्लास बेग्लै हुन्थ्यो ।

०६७ कात्तिक महिना । भाइटीका मनाउन घर गएँ । उनी मलीन थिए । विष्णु किन खुसी छैन ? मनमा प्रश्न खेलिरह्यो । एउटै बेन्चमा बस्यौँ । हिजोको चञ्चल विष्णु थकित देखिन्थे । निकै बेरको मौनतापछि विष्णुले पीडाको पोको खोले । ‘हेर न, खान पनि मन लाग्दैन, हिँड्दा थकाइ लाग्छ, तिर्खा पनि अत्यधिक लाग्छ,’ उनी खुल्दै गए । उनका हातखुट्टा पनि सुन्निएका थिए । ‘नेपालगन्जमा चेक गराउँदा मिर्गौला ९० प्रतिशत खराब भनेको छ, डाक्टरले,’ यसो भन्दा न हर्ष न विस्मात्को भाव देखियो, उनको अनुहारमा ।

भाइटीकाको भोलिपल्ट उनका जेठो दाजुसहित हामी काठमाडौं हानियौँ । भोलिपल्टै वीर अस्पताल पुग्यौँ ।

‘कति वर्ष भयौ ?’ डाक्टरले सोधे, ‘२३’, विष्णुको जवाफ थियो । सम्पूर्ण स्वास्थ्य जाँच भयो । ‘तपाईंंसँग दुईवटा उपाय छन् । पहिलो, जीवनभर डायलासिस गर्ने र दोस्रो, आमा वा दाजुभाइमध्ये एकजनाबाट मिर्गौला प्रत्यारोपण गराउने’, डाक्टरले भने, ‘डायलासिस गर्न महिनामा २० देखि २५ हजार खर्च हुन्छ । ट्रान्सप्लान्ट गरेमा ८ देखि १२ लाख लाग्छ र मासिक १० देखि १५ हजारको औषधि खानुपर्छ ।’

त्यसवेला विष्णुका दुवै आँखा रसाएका थिए । उनका दाइ डाँको छाडेर रोए । सम्झाउन सक्ने अवस्था थिएन । अन्त्यमा डायलासिस गर्ने योजनामा विष्णु पुग्यो । वीर, टिचिङ, किस्ट र नेसनल किड्नी सेन्टरमा विष्णुको डायलासिस यात्रा सुरु भयो ।

आफैँले जन्माएको सन्तानको कष्ट देख्न नसकेर विष्णुकी आमाले मिर्गौला दिने भइन् । चेक गरिसकेपछि अस्पतालले मिर्गौला दिन योग्य बतायो । कागजी प्रक्रिया पूरा भयो । तर, विष्णुको स्वास्थ्यमा उतार–चढाव देखियो । ‘ऐया १ टाउको फुट्न लाग्यो’ चिच्याउँदाचिच्याउँदै बेहोस हुन्थे, उनी । ‘यस्तो पीडा भोग्नुभन्दा त ‘,’ उनी साथीको नाताले दिक्दारी पोख्थे । हस्पिटलको बेडमा उनको एक वर्ष बित्यो । ६–७ लाखभन्दा धेरै खर्च भयो । काठमाडौँको बसाइ । कहिले मुटुको उपचार, कहिले पेटको । भएको सबै पैसा सकियो । काठमाडौँ बस्ने कुनै उपाय बाँकी नरहेपछि विष्णुलाई घर फर्काइयो । रातदिनको पीडाले उनी थप छटपटाए ।

ऋण–धन गरेर डायलासिसका लागि कोहलपुर र कहिले चितवन लैजाने क्रम जारी रह्यो । विष्णु सानै हुँदा उनका बुबाको स्वर्गे भएको थियो । परिवारले सकेको गरे । विष्णु जिन्दगीको कठिन मोडमा पुगेपछि छिमेकी अघि सरे । गच्छेअनुसार सहयोग गरे । कसैले ऋण दिए । सामुदायिक वनले विनाब्याज ५ लाख ऋण दियो । ‘मिर्गौला प्रत्यारोपणका लागि पुनः आयौँ,’ उनले भने । आमा–छोरा डेरा खोजेर बस्न थाले ।

बिरामीको हेरचाहका लागि दाइ र भाउजूहरू आलोपालो हस्पिटल बसे । मिर्गौला फेल भएको डेढ वर्षपछि ०६९ माघमा मिर्गौला प्रत्यारोपण गरियो । परिवार र छरछिमेकका लागि त्यो सुखद खबर थियो । मिर्गौला प्रत्यारोपण गरेको तीन वर्षपछि विष्णु सजिलै हिँडडुल गर्न सक्ने भए । विवाह गरे । छोरो जन्मियो ।

मासिक १० देखि १५ हजारसम्मको औषधि खानुपथ्र्यो । सरकारले दिने एक लाखले चाहिने औषधिको भार थेग्न नसकेपछि उनी पढाउन थाले । मासिक ७र८ हजार रुपैयाँ कमाइ भएपछि केही राहत भएको उनले सुनाए ।

ठीकठाक चलिरहेको जीवनमा पुनः ग्रहण लाग्यो । विष्णुको फोक्सोमा समस्या देखियो । उनी यतिवेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगनजको सघन उपचार कक्ष (आइसियू)मा उपचारत छन् । प्रहरीमा कार्यरत दाजु, विष्णुकी श्रीमती र १५ महिने छोरा कुरुवा बसेका छन् । ‘सुनाएर भनिनसक्नु पीडा छन्,’ विष्णुकी जीवनसंगिनीले शब्दमा पोख्न सकिनन् । साहुबाट दिएको सात लाख ऋण सकिइसकेको मात्र होइन, ऋण लिएकाबाट पनि तिर्न दबाब आएको छ ।

बचपनका साथीको पीडाको कथाले पंक्तिकार पनि रन्थनिएँ । सोचेँ, ‘त्यही उपचार स्थानीय स्तरमै भइदिएको भए, आउ–जाउको खर्च त कम्तीमा जोगिने थियो । उनको सहयोगको याचना कसले सुनिदिने ? नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया