जितिया पर्व आउन अझै केहिदिन बाँकी छ । तिथिले असोज १६ गते जितिया पर्व परेको छ । यद्यपी सुनसरीमा भने जितियाको रौनक एकसाता अघिनै तातिसकेको छ । जितियाको अवसरमा सांस्कृतिक कार्यक्रमहरु हरेकजसो गाउँ तथा टोलहरुमा आयोजना हुन थालेका छन् । आज मात्रै सुनसरीका एक दर्जनबढी स्थानमा औपचारिक रुपमा जितिया पावनी मनाइएको छ ।

इनरुवा ६ मधेशा सहित झुम्का, औराबनी, खनार, सोनापुर, दुहवी लगायतका भेगमा जितियाको अवसरमा विभिन्न कार्यक्रमहरु गरिएका छन् । इनरुवाको मधेशामा भने पहिलो पटक जितिया पर्व मनाइएको छ । वडाध्यक्ष कोषराज अधिकारीका अनुसार आफुले जानेसम्म यस पटकको जितिया गाउँकै पहिलो हो ।

कार्यक्रममा गाउँटोलबाट झाँकी निकालिएको थियो भने जनता माबि मधेशामा जातीय पहिचान सहितको मौलिकता झल्कने नाँच, गान सहित थारु नाटक प्रस्तुत गरिएको थियो । प्रतियोगिताका रुपमा सहभागि गराइएका प्रस्तुतीका आधारमा उत्कृष्ट समूहलाई नगद सहित पुरस्कार समेत बितरण गरिएको थारु अगुवा हेमनारायण चौधरीले बताउनुभयो ।

जितिया पर्व थारु र मैथिल समूदायले ठूलो चाडका रुपमा मनाउने गर्छन् । जितिया पर्व थारु समूदायमा पुत्र सुखशान्ति र चिरायुको लागि प्रशिद्ध छ । यस पर्वमा महिलाले उपवास बसी सन्तान सुख र परिवारको दीर्घायुको मनोकामना सहित धार्मिक विधान अनुरुपको पूजाआजा गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया