- दिलिप कुमार साह


राजविराज । जितिया पर्वलाई राष्ट्रिय पर्वमा स्थापित गर्ने उद्देश्यले सप्तरीका मैथिल तथा थारु महिलाहरुले विभिन्न स्थानमा जितिया महोत्सव मनाएका छन् । निराहार, निर्जला उपवास बसेका थारु समुदायका महिलाहरुले दिनभरी नाचगान, नाटक प्रस्तुतीका साथै जिमुतवाहनको कथावाचन गरी महोत्सवका रुपमा जितिया पर्व मनाएका हुन् ।

जितियालाई राष्ट्रिय पर्वका रुपमा स्थापित गर्नुपर्ने माग राख्दै थारु महिलाहरुले राजविराजसहित सप्तकोशी, ओद्राहा, कल्याणपुर, मोहनपुर, सितापुर, बनौली, करमनियामा सांस्कृतिक कार्यक्रम गरेर हर्षोल्लासका साथ मनाए । राजविराजमा आयोजित कार्यक्रममा महिलाहरुले सन्देशमूलक नाटक, धुमरा नृत्य, बिरहन, चाचैर र प्राती गीतसहित पौराणिक र आधाुनिक थारु गीत, नृत्य प्रस्तुत गरे । शिक्षक शंकर चौधरीले जिमुतवाहन व्रतको महत्व र पर्वको आरम्भका बारेमा कथा सुनाए ।

आपसी सदभाव, भाइचारा बढाउन सहयोगी रहेको संस्कृति र सभ्यता जगेर्ना गर्ने उद्देश्यले सास्कृतिक कार्यक्रम गरी जितिया पर्व मनाइएको थारु आदिवासी महिला समन्वय समितिका अध्यक्ष उमादेबी चौधरीले बताइन् । चौधरीका अनुसार जितिया पर्वको संरक्षण, सम्वद्र्धन गरी यस्को महत्व प्रचारप्रसार गर्न सांस्कृतिक महोत्सवको आयोजना गरिएको हो ।

तराईमा बसोबास गर्ने मैथिल महिलाहरुले पनि निष्ठापूर्वक मनाउने गरेको जितियालाई थारु महिलाहरुले भने विशेष सांस्कृतिक पर्वका रुपमा मनाउने गरेका छन् । सप्तमीदेखि नवमी तिथीसम्म तीन दिन मनाईने जितिया पर्वमा थारु समुदायका नवविवाहिता छोरीचेलीलाई नागपञ्चमीकै दिन दाजुभाईले माइत ल्याएर मिठो खुवाउने चलन रहेको कञ्चनरुपकी उमा चौधरीले बताइन् ।

सन्तानको दीर्घायुको कामनाका साथ नजिकको पोखरी, तलाउ, इनारमा सोमबार रातो माटो, तोरीको पिनाले स्नान गरी व्रतको सङ्कल्प गरेका महिलाहरुले ‘नहा, खा’ (नुहाएर खानु) गर्दै सप्तमी तिथीदेखि धार्मिक विधिअनुसार जितिया पर्व सुरु गरेका हुन् । ब्रतालु महिलाहरुले स्नान गरी मंगलबार सुर्योदय हुनु अघि दही, चुरा, केरा, चिनी, लौका, ओल, आलुका तरकारी, नुनीको साग, माछा र कोदोको रोटी खाएर उपवास सुरु गरेको बकधुवाकी सावित्री चौधरीले बताइन ।

नवमी तिथिको प्रवेश भएपछि नुहाएर आँगनमा घिरौलाको पातमा तेल, पिना, सिन्दुर, दही, चुरा, अक्षता, पान, सुपारी शख्खर, फूल आदीले पूजागरी चढाएको ओखरी (फुलाएको केराउ, मुंग) निलेर महिलाहरुले पारायण गरेपछि पर्व सम्पनन हुन्छ । राजविराज ८ की बच्चादेवी चौधरीका अनुसार पारायण गरी प्रसाद ग्रहण गरेपछि सम्पन्न हुने जितिया पर्वमा दाजुभाईले नयाँ लुगा उपहार दिएर छोरीचेलीलाई घर बिदा गर्छन् । जितिया पर्वको ब्रत बसेपछि जस्तोसुकै आपतविपत पर्दा पनि सन्तानको जीवन सुरक्षित रहने धार्मिक विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया