सुनसरी ।  इटहरी उपमहानगरले नि:शुल्क औषधि र उपचार सेवा उपलव्ध गराउन सुरु गरेको छ । शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत ओपिडी सेवा संचालन गरेर औषधि र उपचार निशुल्क उपलव्ध गराउन थालेको हो ।

केन्द्रले उपचार गर्न आउने विरामीलाई उनीहरुको रोगको प्रकृति अनुसार निशुल्क ल्याब टेस्ट गर्नुकासाथै उच्च रक्तचाप, मधुमेह, स्वाप्रस्वास र टाइफाइड जस्ता रोगको निशुल्क औषधि दिने गरेको छ।

केन्द्रका अधिकृत चिकित्सक डा गुन्जन त्रितालले भने, ‘दिनदिनै स्वास्थ्य सेवा महङ्गो हुँदै गइरहेको छ। हुनेखानेले निजी नर्सिङ होम वा महंगा अस्पतालमा उपचार गर्लान् तर सबैको पहुँच पुग्दैन। अस्पतालको पहुँच नभएका सर्वसाधारणलाई लक्षित गरेर इटहरी उपमहानगरले नि:शुल्क स्वास्थ्य सेवा दिइरहेको छ।’

हाल केन्द्रमा निशुल्क औषधि र उपचारकालागि दैनिक ३० देखि ४० जना आइरहेका छन्। उच्च रक्तचाप र मधुमेहको औषधि खान सुरु गरेपछि जीवन भर खानु पर्ने भएकाले कम आयश्रोत भएका शहरी गरिबहरुले नियमित रुपमा किनेर खान नसक्ने भएकाले उपमहानगरले ती औषधि पनि नि:शुल्क उपलव्ध गराउन थालेको डा. त्रितालले बताए। उनका अनुसार शहरी रहनसहन र जीवनशैलीका कारण हुने रोगहरुको निशुल्क उपचारका लागि सुरु शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र संचालन गरेर नि:शुल्क स्वास्थ्य सेवा दिएको हो।

केन्द्रले स्वास्थ्य परीक्षण पछि आवश्यकता अनुसार उच्च रक्तचाप, युरिक एसिड, दम, निमोनिया र टाइडफाइडकालागि एण्टिबायोटिक एमोक्सिसिलिन, सिप्रोफ्लोक्सिन, पिसाबको संक्रमण, ज्वरो रुघा खोकीलगायतको औषधि नि:शुल्क वितरण गर्दै आएको डा त्रितालले बताए। उनकाअनुसार ओपिडीमा पनि प्रेसर सुगर, वाथ, दम, थाइराइड, मोटोपन, मधुमेह, उच्चरक्तचापका बिरामी बढी आउने गरेका छन्।

केन्द्रमा चिकित्सक, जनस्वास्थ्य अधिकृत, दुईजना स्टाफ नर्स, एक जना हेल्थ असिस्टेण्ट लगायत ११ जनाले सेवा दिइरहेको उनले बताए। इटहरी उपमहानगरका प्रमुख प्रशाशकीय अधिकृत छवि रिजालले केन्द्रमार्फत ७० प्रकारका औषधि नि:शुल्क दिइने गरेको बताए।

उनले भने, ‘शहरी जीवनशैलीका कारण उत्पन्न हुने नसर्ने रोगहरु हुन नदिन र भइहाले रोकथाम गर्नका लागि स्वास्थ्य सल्लाह, परामर्श र उपचारकालागि उपमहानगरपालिकाले निशुल्क उपचार सेवा र औषधि दिन थालेको हो।’ उनले केन्द्रलाई थप सुविधा सम्पन्न बनाउन स्वीकृत कार्यक्रम अनुसार रगत जाँच, एक्सरे, डिजिटल एक्सरे र भिडियो एक्सरे, ल्याबकालागि तयारी पनि गरिएको बताए।

उपमहानगरपालिकाले केन्द्रमार्फत नै नि:शुल्क खोप कार्यक्रम र नि:शुल्क ल्याब सेवा प्रदान गर्नका लागि तयारी भइरहेको जनाएको छ। कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia