इनरुवा/सुनसरीको डुम्राहा र इनरुवामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सर्वसाधारणका घरआँगनमा पुगेर सुलभ स्वास्थ्योपचार पु¥याउने उद्देश्यसाथ सञ्चालित दुई दिने शिविरमा एक हजार बढीले स्वास्थ्य चेकजाँच गराएका छन् ।

माउण्टेन हर्ट नेपाल र इनरुवा नगरपालिकासँगको सहकार्यमा आयोजित स्वास्थ्य शिविरमा जेष्ठ नागरिक, असहाय, अशक्त साथै महिला तथा बालबालिकाहरुले बढी लाभ उठाएका थिए । डुम्राहामा अघिल्लो दिन शिविर आयोजना गरिएकोमा इनरुवाको महेन्द्रचौकमा आज शिविर सञ्चालनमा ल्याइएको हो ।

शिविरमा उपचार गराउनेहरुका हकमा औषधी लगायत आवश्यक सामाग्री निःशुल्क उपलब्ध गराइएको छ । शिविर संयोजक समेत रहनु भएकी इनरुवा नगरपालिकाकी उप–प्रमुख जमुना गौतम पोखरेलले सर्वसाधारणमैत्री स्वास्थ्योपचारलाई सहज, सुलभ र सबैले अनुभूति गर्ने गरी कार्यान्वनमूखी बनाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो ।

उप–प्रमुख पोखरेलले इनरुवा नगरपालिका नगरवासीका हकमा सहज र गुणस्तरीय स्वास्थ्योपचारका सवालमा प्रतिवद्ध रहेको बताउँदै उपचारकालागि अन्यत्र भौतारिनु पर्ने तितो यथार्थबाट नगरवासीलाई छिट्टै छुटकारा दिलाइने बताउनुभयो ।

दीगो र परिणाममुखी कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताउनुहुने उपप्रमुख पोखरेलले समाजसेवासँगै सवलिकरण र सशक्तिकरणको पाटोलाई जोड दिँदै समृद्ध समाज निर्माणकालागि आफ्नो पहल कदमी जारी रहने विश्वास दिलाउनु भयो । यसअघि नगरपालिकाको मातहतमा रहेको इनरुवा अस्पताल अबभने प्रदेश सरकार मातहतमा गएको छ ।

हालसालै गठित अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जिल्ला समन्वय समिति सुनसरी सभापति गोपालराज भण्डारी अध्यक्ष रहनु भएको छ भने उपप्रमुख पोखरेल सहित अन्य सदस्य रहेका छन् । कार्यक्रमको उद्घाटन सत्र इनरुवा नगरपालिका वडा नम्वर ३ का अध्यक्ष कालुराम गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि भने रामप्रसाद मेहता रहनु भएको थियो ।

यसैबिच माउण्टेन हर्ट नेपालले इनरुवा अस्पतालकालागि औषधी सहित आवश्यक स्वास्थ्योपचार सामाग्री समेत हस्तान्तरण गरेको छ ।

हर्टकी व्यवस्थापक गोमा गौतमले इनरुवा नगरपालिका उपप्रमुख जमुना गौतम पोखरेललको विशेष आग्रहमा शिविर सञ्चालनका साथै अस्पताललाई सामाग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया