- अमर काफ्ले

 

महोत्तरीबाट अपहरणमा परेकी नाबालिका उपर जबरजस्ती करणी गरी हत्या गर्ने फरार अभियुक्त ५३ दिनपछि पक्राउ परेका छन् ।
महोत्तरीको औरही नगरपालिका १ मा फैन्सी तथा कस्मेटिक पसल सञ्चालन गर्ने सन्तोष चौधरीकी ८ महिने नाबालिका सोनालीको अपहरण पश्तात करणी गरी हत्या गर्ने फरार अभियुक्त भरत साह सुनसरीबाट पक्राउ परेका हुन् ।नाबालिका भदौ १० गते रक्षा बन्धनको दिन अपहरणमा परेकी थिइन् ।

भोलिपल्ट भङगहा नगरपालिका ७ मा रहेको आँपको बगानमा जबरजस्ती करण पश्चात हत्या गरि फालिएको अवस्थामा नाबालिकाको शव फेला परेको थियो ।घटना अनुसन्धान र पसलमा रहेको सिसी क्यामेरा फुटेजका आधारमा प्रहरीको खोजी सूचिमा रहेका भङगहा नगरपालिका ७ का वर्ष २६ का भरत साहलाई सुनसरीको कोशी ब्यारेजबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।सिमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको प्रहरी टोलीको चेकिङका क्रममा साह पक्राउ परेका हुन् । चेकिङका क्रममा शंकास्पद गतिविधीका आधारमा साहलाई सोधपुछकालागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।


बयान र साहको पृष्ठभूमि केलाउने क्रममा नाबालीका करणी तथा हत्यामा संलग्न रहेको पुष्टि भएपछि उनलाई सुनसरी प्रहरीले आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।हत्यामा संलग्नताको आधारमा समेत साहलाई पक्राउ गर्न नसकेको भनि प्रहरीले चर्को आलोचना खेप्नु परेको थियो ।साहलाई पक्राउ गर्न देशभरका सुरक्षा युनिटलाई सकृय बनाउनुकासाथै भारतस्थित काउण्टर पार्टसँगको समन्वयमा समेत खोजी गरिएको थियो । यद्यपी साह भने पक्राउ पर्न सकेका थिएनन् ।


हत्या पश्चात भारतमै लुक्दै आएका साह सप्तरी हुँदै सुनसरी छिर्ने क्रममा प्रहरीको फन्दामा परेका हुन् ।सांगठिनक अपराध, जघन्य अपराध, महिला तथा बालबालिका माथि हुने अमानविय कार्यलाई लक्षित गर्दै प्रहरीले विशेष सुरक्षा रणनीति अवलम्बन गरी मातहतमा परिपत्र गरेको थियो । सोही अभियानको क्रममा अपराधी पक्राउ गर्न सफल बनेको सुनसरी प्रहरी प्रमुख राजन अधिकारीको भनाई छ ।

तपाईको प्रतिक्रिया