- मिकाइल आलम

इनरुवा । सप्तरीको शम्भुनाथ नगरपालिकाबाट उत्पादित हेल्दी अकुवा व्राण्डको बोतलको पानीमा अखाद्य बस्तु फेला परेको छ । कोशी गाउँपालीका ८ स्थित भाण्टावारीको रन्जित साहको पसलमा बिक्रीका लागि राखिएको पानीको बोतल भित्र लेदो पदार्थ देखिएपछि पसल सञ्चालकले त्यसको जानकारी प्रहरीलाई दिएका थिए ।

प्रसोधित भन्दै प्रति लिटर २५ रुपैयाँमा विक्री गर्ने पानीमा अखाद्य वस्तु फेला परेपछि उक्त उद्योगको चरम लापरवाही रहेको पुष्टि भएको छ । पानीमा लेदो पदार्थ भेटिएपछि खोलाको पानी सिधै वोतलमा भरी विक्री गरेर जनस्वास्थ्यमा गम्भिर खेलवाड गर्नेविरुद्ध कारवाही गर्नु पर्ने उपभोक्ता अधिकारवादीले खवरदारी गरेका छन् ।

विरेन्द्र एण्ड सण्ड फुड बेबरेज इन्ड्र्स्टिज व्राण्डको पानीमा अखाद्य वस्तु उत्पादन गरि विक्रीका लागि पठाउने कम्पनीलाई कारवाही गर्न स्थानीयले माग गरेका छन् । यसअघि पनि हेल्दी अकुवा ब्राण्डको पानीको बोतलहरुमा विभिन्न प्रकारका अखाद्य वस्तुहरु फेला पर्ने गरेको उपभोक्तहरुले बताएका छन्।

तर पनि प्रशासनिक अनुगमन फितलो रहेको फाइदा उठाएर उपभोक्ता अधिकार माथि धावा बोल्दै आएका थिए । उपभोक्तहरुको बढि चाप रहने भाण्टावारी क्षेत्रमा खाने पानी नै गुणस्तरीय नहुँदा त्यसले उपभोक्तको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ । तर पनि त्यस्ता कम्पनीहरुमाथि सम्बन्धित निकायले कारबाही गर्ने आँट नगर्दा उनीहरु झन गलत गर्नेतर्फ उद्धत रहेको पाइएको छ ।

पछिल्लो समय सरकारले गुणस्तरहिन खाद्य बस्तु उत्पादन गर्ने कम्पनीहरुमाथि कारबाही गर्ने बताइरहँदा भाण्टावारीमा खाने पानीमा नै अखाद्य बस्तु फेला परेको हो । यता बोतलमा लेदो पदार्थ भएको जानकारी आएपछि सिमा प्रहरी चौकी भाण्टावारीले बोतल सहित आवश्यक कारबाहीको लागि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रणको कार्यालयमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया