जागरुक नागरिक दबाब समूह इनरुवाले इनरुवा नगरपालिकाको कार्यालयले संचालन गरेका बिकासे योजना सहित सम्पादित कार्य प्रगति विवरण र हर हिसाब सार्वजनिकको माग गरेको छ ।पारसमणि यादव संयोजक रहेको जागरुक नागरिक दबाब समूहले पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक विवरण सहितको सूचना माग गरेको हो ।समूहले आर्थिक वर्ष २०७४।०७५ र चालु आ.वको असोज मसान्त सम्म नगरपालिकाबाट भएका बिकासे काम सहित सामान खरिद, आर्थिक सहायता चन्दा र पुरस्कार सहित वडा कार्यालयमा बिनियोजित रकम,जनप्रतिनिधीले लिएको पेश्की विवरणका साथै भत्ता र इन्धन खर्च लगायतको सूचना माग गरेको छ ।


पत्रकार सम्मेलन गरी आफुहरुका मागबारे जानकारी गराएको जागरुक नागरिक दबाब समूहले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुबराज पोखरेललाई भेटेरसूचना माग गरिएको व्यहोराको पत्र बुझाएको थियो ।

दिनेश लम्साल नेतृत्वमा रहेको असन्तुष्ट पक्षले यसअघिनै पारसमणि यादवको संयोजकत्वमा संघर्ष समिती गठन गरिसकेको छ । समूह २१ बुँदे माग सहित इनरुवा नगरपालिका विरुद्ध आन्दोलनमा उत्रिएको छ ।समूहका पदाधिकारीहरुले नगरभित्र भएका बिकास निर्माण लगायतका क्षेत्रमा भ्रष्टाचार र अनियमितता भएको ठहर गर्दै जनताको पक्षमा आन्दोलनमा होमिएको बताउँदै आएका छन् ।


यसअघि इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले पत्रकार भेटघाटकाबिच असन्तुष्ट भनिएको समूहले आफुमाथि व्यक्तिगत रुपमा रिसिवी साँध्ने काम गरेको प्रतिकृया दिनु भएको थियो । कमिकमजोरी भए सच्चिएर अघि बढ्ने बताइसक्नु भएका मेहताले आर्थिक पाटोमा आफ्नो संलग्नता नरहने र कार्यपालिकाबाट पारित भएपश्चात मात्र कामकार्वाही अघि बढ्ने हुँदा आफुमाथि आरोप प्रत्यारोप गरिनु व्यक्तिगत स्वार्थ लाद्ने प्रयास मात्र भएको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया